मेस्सी भर्सेस रोनाल्डो : मेस्सी रोनाल्डोभन्दा दोब्बरले अघि !

काठमाडौं, जेठ १६
विश्व फुटबलका सुपरस्टार अर्जेन्टिनी लिओनल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोबीच दशकयता चर्को प्रतिस्पर्धा छ । इटालियन युभेन्टसबाट खेलिरहेका ३४ वर्षीय रोनाल्डो र स्पेनिस बार्सिलोनाबाट खेलिरहेका ३१ वर्षीय मेस्सीबीच अहिले पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रतिस्पर्धा छँदैछ छ ।

रोनाल्डोलाई यो सिजनको सुरुमा रियलले ११६ मिलियन युरोमा बेचेको थियो । इटालीमा पहिलो सिजन बिताइरहेका रोनाल्डोले पहिलो सिजन प्रभावशाली प्रदर्शन गरे पनि गोल भने विगत सिजनभन्दा निकै कम मात्रै गरे ।

विगत वर्षहरूमा मेस्सीसँग प्रतिस्पर्धी गोल गर्ने रोनाल्डो यस सिजन भने करिब दोब्बरले नै पछि परे । रोनाल्डोले विगत सिजनभन्दा यसपटक असिस्ट संख्या बढाए पनि गोल भने पर्याप्त गर्न सकेनन् ।

यस सिजन मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ५१ गोल गरे । त्यसक्रममा उनले ४९ खेल खेले । कूल १९ गोलका लागि असिस्ट गरे ।

यता, रोनाल्डोले युभेन्टसका लागि यो सिजन सबैखाले प्रतियोगिताबाट कूल २८ गोल मात्रै गरे । उनले कूल ४२ खेल खेले । कूल १२ गोलका लागि असिस्ट गरे ।

मेस्सीले ला लिगामा कूल ३४ खेलबाट ३६ गोल गरे भने १३ गोलका लागि असिस्ट गरे । त्यस्तै, च्याम्पियन्स लिगमा उनले १० खेलबाट १२ गोल गरे । कोपा डेल रे फुटबलमा ५ खेलबाट ३ गोल गरे ।

यता, रोनाल्डोले भने यसपटक सिरी ‘ए’ मा ३१ खेलबाट २१ गोल मात्रै गरे । च्याम्पियन्स लिगमा उनले ९ खेलबाट ६ गोल गरे भने सुपरकोपा इटालियामा एक खेलबाट १ गोल नै गरे । कोपा इटालियामा २ खेल खेल्दा गोलविहीन बने ।

यसरी हेर्दा मेस्सीले यो सिजन कूल ४९ खेलबाट ५१ गोल गर्दै १९ गोलका लागि असिस्ट गरे । यता, रोनाल्डोले कूल ४२ खेलबाट २८ गोल गर्दै १२ गोलका लागि असिस्ट गरे ।

मेस्सीले यस सिजन रोनाल्डोको भन्दा समग्रमा ७ खेल बढी खेलेर २५ गोल बढी गरे भने ७ गोलका बढी असिस्ट गरे ।

तर, यस सिजन उपाधि धेरै जित्नेमा भने मेस्सीलाई रोनाल्डोले पछि पारे । मेस्सीले यसपटक बार्सिलोनाबाट घरेलु लिग ला लिगा मात्रै जिते भने रोनाल्डोले युभेन्टसबाट घरेलु लिग सिरी ‘ए’ र सुपरकोपा इटालिया गरी दुई उपाधि जिते ।

यसपटक रोनाल्डोको टिम युभेन्टस कोपा इटालिया र युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठबाटै आउट भयो । यता, मेस्सीको बार्सिलोना भने च्याम्पियन्स लिगको सेमिफाइनलबाट आउट भयो भने कोपा डेल रे फाइनलमा पराजित भयो ।

प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार १३:५८
Loading...