हामी रोनाल्डोलाई एकदमै मिस गर्छौं : मोड्रिक

एजेन्सी, जेठ १६
स्पेनिस रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिकले आफ्ना पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोलाई सम्झिएका छन् । अघिल्लो दिन एक अन्तर्वार्तामा बोल्दै मोड्रिकले रोनाल्डो सर्वोत्कृष्ट खेलाडी रहेको बताउँदै उनलाई रियलका सबै खेलाडीले सम्झिने बताए ।

गत वर्ष मोड्रिकले नै रोनाल्डोलाई पछि पार्दै बालोन डिओर अवार्ड जितेका थिए । रोनाल्डो गत वर्ष रियल छाडेर इटालियन युभेन्टसमा अनुबन्ध भएका थिए ।

रोनाल्डो हिँडेको पहिलो सिजन रियलले इतिहासकै खराब सिजन बितायो । ऊ सबै ठूला उपाधिमा नील भयो । अन्य खेलाडीले रोनाल्डोको गोल संख्यालाई प्रतिस्थापन गर्न नसक्दा रियल चरम रूपमा गोलको खडेरीबाट गुज्रियो ।

‘रोनाल्डो सर्वोत्कृष्ट खेलाडी हुन् । उनले प्रशस्तै गोल गर्थे,’ मोड्रिकले भने, ‘म उनलाई एकदमै सम्झिन्छु । यहाँका हरेक खेलाडीले उनलाई सम्झिन्छन् ।’

मोड्रिकले रोनाल्डो गएपछि अन्य खेलाडीले रोनाल्डोको गोलको ठाउँ पुर्न नसक्दा समस्या भएको बताए । ‘जसले एक सिजनमा ५० गोल गर्थे । उनी गएपछि उनको जति गोल अन्य खेलाडीले गर्न नसक्दा यो सिजन हामी गोलको खडेरीबाट गुज्रियौं,’ मोड्रिकले भने ।

मोड्रिकले गत वर्ष आफूले बालोन डिओर अवार्ड जित्दा रोनाल्डो रिसाएको भन्ने कुरा झुठो भएको बिताए । ‘उनले आफूले नपाएकोमा दुःखी भए होलान् । तर, मैले जितेकोमा उनी रिसाएको कुरा झुठो हो’ मोड्रिकले भने, ‘उनले मलाई त्यत्तिबेलै बधाई दिएका थिए । हामी अहिले पनि राम्रो साथी छौं ।’

प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार १२:४५
Loading...