no-image

एजेन्सी, जेठ १६
केही दिनयता ब्राजिलियन स्टार नेइमार आफ्नो पूर्वक्लब बार्सिलोना फर्किने चर्चा चुलीमा छ । २ वर्षअघि बार्सिलोना छाडेर अप्रत्यासित रूपमा फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भएका नेइमार एकाएक पुनः क्याम्प नोउ फर्किने चर्चा बढेको हो ।

यता, बार्सिलोनाको खास प्रतिस्पर्धी क्लब रियल मड्रिड अझै पनि नेइमार अनुबन्ध गर्ने दौडमै छ । उसले टोलीमा गोल मेसिन खेलाडी अनुबन्ध गर्नेक्रममा नेइमारलाई पहिलो प्राथमिकतामा राखेको बताइन्छ ।

नेइमार सन् २०१७ मा विश्वकीर्तिमान २२२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी गएका थिए । तर, जुन उद्देश्यसाथ नेइमार फ्रान्स पुगेका थिए, उनले ती चिज प्राप्त गर्न नसकेपछि निराश छन् ।

बार्सिलोनामा छँदा अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीसँग नेइमारको विशेष सम्बन्ध थियो । उनीहरूको मैदानमा जति उत्कृष्ट तालमेल मिल्थ्यो, मैदानबाहिर पनि उत्तिकै सुमधुर सम्बन्ध थियो । यो कुरा मेस्सी र नेइमार दुवैले पटक–पटक भन्ने पनि गरेका छन् ।

मेस्सीकै चाहनामा बार्सिलोना आफ्ना पूर्वस्टार खेलाडी भित्र्याउने पक्षमा उभिएको छ । यसपटक बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भएपछि बार्सिलोना समर सिजन ट्रान्सफरलाई विशेष बनाउने तयारीमा छ ।

तीन साताको बीचमा बार्सिलोना दुई प्रमुख उपाधिबाट आउट भएपछि थुप्रै खेलाडी बेच्ने तथा भित्र्याउने तयारीमा छ । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्न सक्ने चर्चा बढे पनि बार्सिलोना उनैलाई निरन्तरता दिने पक्षमा उभिएको छ ।

पछिल्लोपटक बार्सिलोनाका अधिकारीले कप्तान मेस्सीसहित भाल्भर्डेसँग छलफल आगामी सिजनको तयारी कसरी गर्ने भनेर छलफल गरेका थिए । सोहीक्रममा मेस्सीले टिमका हालका केही प्रमुख खेलाडी बेचेर नेइमार फर्काउनुपर्नेमा जोड दिएका थिए ।

मेस्सी कप्तानसमेत रहेकाले उनकै चाहनामा बार्सिलोना नेइमार भित्र्याउने पक्षमा उभिएको हो । मेस्सीले नेइमार फर्किंदा च्याम्पियन्स लिगमा भोग्दै आएको असफलतामा ब्रेक लाग्ने ठानेका छन् ।

यता, नेयमार फर्काउने विषयमा प्रशिक्षक भाल्भर्डे पनि सहमत छन् । क्लबका अधिकारी, कप्तान र प्रशिक्षकसमेतको साझा समझदारीमा क्लबले नेइमार फर्काउन चासो बढाउको स्पेनिस मिडियाले जनाएका छन् ।

मेस्सी र भाल्भर्डेले नेइमार टोलीमा फर्किए अर्को सिजन च्याम्पियन्स लिगलगायत ठूला उपाधि जित्न मदत पुग्ने ठानेका छन् । बार्सिलोनाले समरमा टोलीका फ्रेन्च खेलाडी उसामान डेम्बेले, फिलिपे कोउटिन्हो र इभान राकिटिकलगायत खेलाडी बेचेर नेइमार फर्काउने तयारी गरेको छ ।

बार्सिलोना नेइमार फर्काउन तयार देखिनुको पछाडि बार्सिलोनाको भविष्य पनि हो । हाल ३१ वर्ष पुगेका मेस्सीको बढ्दो उमेरलाई ख्याल गर्दै बार्सिलोनाले मेस्सीपछि उनको उत्तराधिकारी नेइमारलाई बनाउन चाहेको देखिन्छ ।

प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार १०:५७
Loading...