एजेन्सी, जेठ १५
लगातारका असफलता र उतारचढावबीच अर्नेस्टो भाल्भर्डे आगामी सिजन पनि स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षकमा निरन्तर रहने भएका छन् । मंगलबार र बुधबार गरी दुई दिन बसेको बार्सिलोनाको बोर्ड बैठकले भाल्भर्डेलाई बर्खास्त नगरेपछि उनले अर्को सिजन पनि जिम्मेवारी सम्हाल्ने पक्का भएको हो ।
अघिल्लो दिन स्पेनका अधिकांश मिडियाले भाल्भर्डे ४८ घन्टाभित्रमा बर्खास्तमा पर्न सक्ने खबर प्रकाशित गरेका थिए । तर, क्लब तत्कालै भाल्भर्डेको विकल्प नखोजी उनैलाई निरन्तरता दिने पक्षमा उभिएको हो ।
तीन साताको बीचमा बार्सिलोना युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भएपछि क्लबले भाल्भर्डेलाई बर्खास्त गर्न सक्ने अनुमान थियो ।
त्यसअघि भाल्भर्डे स्वयंले पनि आफूले पदबाट राजीनामा नदिने बताएका थिए भने क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पनि बार्सिलोनाका लागि भाल्भर्डे नै सबैभन्दा उत्तम प्रशिक्षक रहेको भन्दै अर्को सिजन पनि उनैले काम गर्ने बताएका थिए ।
तर, यी परिघटनाबीच चर्को दबाब बढेकाले क्लबले भाल्भर्डेलाई पदबाट हटाउने चर्चा चले पनि क्लबले नयाँ प्रशिक्षक तत्कालै खोजी नगर्ने भएको हो ।
प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार १५:४२