रियल मड्रिड छाडेर इस्को युभेन्टस जाने पक्का !

एजेन्सी, जेठ १५
स्पेनिस रियल मड्रिडका प्ले मेकर इस्को इटालियन क्लब युभेन्टस जाने सम्भावना बढेको छ । नयाँ सिजनका लागि युभेन्टसले इस्कोलाई मुख्य टार्गेटमा राखेको छ ।

युभेन्टसले यसै साता इंग्लिस क्लब चेल्सीका माउरिसियो सारीलाई नयाँ प्रशिक्षक बनाउने तयारी गरेको छ । उनी हाल चेल्सीका प्रशिक्षक छन् । मासिमिलानो एलेग्रीले छाडेपछि युभेन्टसको प्रशिक्षक पद अहिले खाली छ ।

आज राति हुने युरोपा लिगको फाइनल खेलमा चेल्सीले उपाधिका लागि आर्सनलसँग खेल्दैछ । सो खेलपछि सारीले चेल्सी छाड्ने तयारी गरेका छन् ।

इटालियन मिडियाले सारी युभेन्टसका नयाँ प्रशिक्षक बन्ने पक्काजस्तै भएको बताएका छन् । सारी युभेन्टसको प्रशिक्षक बनेपछि क्लबले स्पेनिस युवा खेलाडी इस्कोलाई अनुबन्ध गर्ने तयारी गरेको खबर छ ।

युभेन्टस अहिले आफ्नो कमजोर मिडफिल्ड सुधार्न प्रयासरत छ । त्यसका लागि उसले क्रिस्टियानो रोनाल्डोसँग रियलका लामो समय सँगै खेलेका इस्कोलाई भित्र्याउन चाहेको छ ।

रियलमा इस्कोको भविष्य सुरक्षित छैन । यस सिजन उनी सिजनभरि कूल ११ खेलमा मात्रै सुरुआती टोलीमा परे । रियलमा जिनेदिन जिदान प्रशिक्षक बनेर फर्किएपछि इस्कोको भविष्य झन् संकटमा पर्ने बताइन्छ ।

युभेन्टसले इस्कोलाई आफ्नो टोलीमा पहिलो रोजाइमा राखेर खेलाउने गरी अनुबन्ध गर्न चाहेको छ । इस्को र रोनाल्डोको तालमेल मिल्ने भएकाले युभेन्टसले नयाँ सिजनमा इस्को प्रभावकारी हुने ठानेको छ ।

रियलले इस्कोलाई ६० मिलियन पाउन्डसम्ममा बेच्न सक्ने चर्चा छ । रोनाल्डो रियलमा हुँदा इस्कोसँग उत्कृष्ट तालमेल थियो । इस्को मिडफिल्डमा निकै प्रभावकारी खेलाडी मानिन्छन् ।

प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार ०७:२२
Loading...