संकट बढेपछि बार्सिलोनामा एकाएक ‘नेइमार फर्काउने’ बहस सुरु, सम्भावना कति ?

एजेन्सी, जेठ १५
स्पेनिस बार्सिलोनामा एकाएक पूर्वखेलाडी नेइमार फर्काउने बहस सरु भएको छ । टिमको हालको खराब अवस्था र भविष्यलाई समेत ध्यानमा राखेर बार्सिलोनाले आफ्ना ब्राजिलियन पूर्वस्टारलाई पुनः क्याम्प नोउ फर्काउनेतर्फ चासो बढाएको हो ।

नेइमार सन् २०१७ मा बार्सिलोना छाडेर विश्वकीर्तिमानी रकम २२२ मिलियन युरोमा फ्रेन्च क्लब पिएसजी पुगेका थिए । तर, पेरिसमा नेइमारले ठूला सफलता पाउन नसकेपछि उनी निराश छन् ।

अघिल्लो दिन बसेको बार्सिलोनाको बोर्ड बैठकमा नयाँ गोलकर्ता खेलाडीको आवश्यकता र नेइमार फर्काउने सम्भावनाबारे छलफल भएको स्पेनिस मिडियाले जनाएका छन् ।

खबरअनुसार बार्सिलेनाले २७ वर्षीय नेइमार फर्काउन उसले आफ्नो टोलीमा रहेका ब्राजिलियन स्टार फिलिपे कोउटिन्हो र फ्रेन्च विंगर उसामान डेम्बेलेमध्ये एकजना खेलाडी डिलमा मिसाउन चाहेको छ ।

कोउटिन्हो र डेम्बेले बार्सिलोना सर्नुअघि पिएसजीले उनीहरू दुवैलाई अनुबन्ध गर्न चाहेको थियो । बार्सिलोनाले उसलाई पछि पारेको थियो ।

नेइमारलाई रियल मड्रिडले समेत आँखा लगाइरहेको छ । तर, नेइमारले मागेजति रकम तलब–सुविधा दिन रियल सहमत नभएको खबर आएका छन् ।

रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजले अघिल्लो सिजनबाटै नेइमारलाई अनुबन्ध गर्न चाहेका थिए । यदि बार्सिलोना नेइमार फर्काउने दिशामा अघि बढे रियल मड्रिडलाई ठूलो झट्का लाग्नेछ ।

यसपटक युरोपियन च्याम्पियन्स लिग रकोपा डेल रे फुटबलबाट आउट भएपछि बार्सिलोनामा ठूलो हलचल आएको छ । नयाँ सिजनका लागि उसले टिममा व्यापक फेरबदल गर्ने सम्भावना छ ।

प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार ०७:०४
Loading...