आज युरोपा लिगको फाइनल : उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

काठमाडौं, जेठ १५
युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि दुई इंग्लिस टिम आर्सनल र चेल्सी आमनेसामने हुँदैछन् ।

फाइनल खेल अजरबैजानको बाकु सहरस्थित बाकु ओलिम्पक स्टेडियममा हुँदैछ । खेल नेपाली समयअनुसार आज राति ठीक १२ः४५ बजेबाट सुरु हुँदैछ ।

यसपटक चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनौट भएको थियो । आर्सनल पाँचौं स्थानमा रहेर अर्को सिजन युरोपा लिगका लागि छानिएको छ ।

यो सिजन उपाधिविहीन बनेका चेल्सी र आर्सनल दुवै आज यो उपाधि जित्ने दाउमा छन् । सबैभन्दा बढी आज आर्सलन दबाबमा हुनेछ । किनभने, ऊ आज उपाधि मात्रै जित्न चाहँदैन, उपाधि जितेर अर्को सिजन च्याम्पियन्स लिगमा छानिनसमेत चाहन्छ ।

प्रिमियर लिगको टप–४ मा नपरे पनि युरोपा लिगको च्याम्पियन टिमले अर्को सिजन च्याम्पियन्स लिगमा सोझै प्रवेश पाउँछ । आर्सनल सोही सुविधा प्रयोग गरेर आगामी सिजन च्याम्पियन्स लिगमा आफूलाई सुरक्षित गर्न चाहन्छ ।

यता, चेल्सी भने आज हरहालतमा यो उपाधि जित्ने दाउमा छ । चेल्सीका बेल्जियन स्टार इडेन हाजार्डका लागि सम्भवतः यो खेल अन्तिम हुनेछ । उनलाई स्पेनिस रियल मड्रिडले भित्र्याउने अन्तिम तयारी गरेको छ ।

केही समयअघि हाजार्डले पनि यदि युरोपा लिग चेल्सीको जर्सीमा आफ्नो अन्तिम खेल बन्छ भने आफूले उपाधि जित्न सबथोक गर्ने बताएका थिए ।

प्रकाशित मिति May 29, 2019
Loading...