दक्षिण अमेरिकी फुटबलको ‘महाकुम्भ’ कोपा अमेरिकाबारे सम्पूर्ण जानकारी !

काठमाडौं, जेठ २०
दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा आजको ठीक ११ दिनपछि सुरु हुँदैछ । गत माघ ११ गते प्रतियोगिताको ड्र सार्वजनिक भएको थियो । यसपटक हुन लागेको प्रतियोगिता ४६औं संस्करणको हो ।

विभिन्न १२ देशलाई पट १, पट २, पट ३ र पट ४ गरी ४ पटमा राखेर विभिन्न तीन समूहमा टोली विभाजन गरिएको छ । जहाँ हरेक समूहमा ४–४ टोली रहेका छन् । जसमा साबिक विजेता टोली चिलीले उरुग्वे प्रतिस्पर्धी पाएको छ । सोही समूहमा दक्षिण एसियाली फुटबलको ‘पावर हाउस’ भनिने जापानसमेत रहेको छ ।

पछिल्ला संस्करणमा फाइनलमा पराजित भएको लिओनल मेस्सीको टिम अर्जेन्टिनाले कोलम्बिया प्रतिस्पर्धी पाएको छ । सो समूहमा पराग्वे पनि छ । अर्को समूहमा प्रतियोगिता आयोजक देश ब्राजिल छ । उसले आफ्नो समूहमा पेरु प्रतिस्पर्धी पाएको छ । यहाँ प्रतियोगिताबारे सम्पूर्ण जानकारी दिइएको छ ।

यस्तो छ ड्र :

समूह ए : ब्राजिल (आयोजक), पेरु, भेनेज्वेला, बोलिभिया

समूह बी : अर्जेन्टिना (साबिक उपविजेता), कोलम्बिया, पराग्वे, कतार (आगन्तुक),

समूह सी : उरुग्वे, चिली (साबिक विजेता), जापान (आगन्तुक), इक्वेडर

कोपामा जापान र कतारले कसरी प्रवेश पाए ?

कोपा अमेरिका प्रतियोगितामा यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई समेटेर आयोजना गरिन्थ्यो । किनभने, यो महादेशस्तरीय प्रतियोगिता हो । कोपा अमेरिकाको आयोजना साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले आयोजना गर्छ ।

यो दक्षिण अमेरिकी क्षेत्रको फुटबलको सर्वोच्च संस्था हो । सो संस्थामा विभिन्न १० देश आबद्ध छन् । प्रतियोगितामा १० देशले सहभागिता जनाउँछन् ।

तर, आयोजकले विभिन्न समयमा सो क्षेत्रका १० टोलीबाहेक अन्य देशलाई समेत ‘आगन्तुक टोली’ का रूपमा प्रतियोगितामा सहभागी गराउने गर्छ । उसले विगतदेखि नै यस्तो गर्दै आइरहेको छ । जसबाट प्रतियोगितामा विभिन्न १२ देश सहभागी हुन्थे ।

तर, यसपटक भने आयोजकले यसअघि दक्षिण अमेरिकी क्षेत्रबाहिरका अन्य ६ देशलाई अतिथि देशका रूपमा बोलाउने निर्णय गरेर पछि निर्णय बदल्यो । आयोजकले २०१८ को मार्च १६ मा एसियन क्षेत्रबाट र उत्तरी अमेरिकी क्षेत्रबाट ३–३ देश गरी ६ देशलाई आगन्तुक देशका रूपमा बोलाउने निर्णय गरेको थियो ।

तर, पछि २०१८ को अफ्रिल १२ मा उसले २०२२ को विश्वकप आयोजक देशको हैसियतमा कतारलाई पाहुना टोलीका रूपमा बोलाउने निर्णय गर्यो । जसमा कतारले पनि सो प्रस्ताव स्वीकार गरेको थियो ।

पछि २०१८ को मार्च ४ मा आयोजकले आफ्नो निर्णयमा फेरबदल गर्दै पुनः कोपा अमेरिकामा १२ देश मात्रै सहभागी गराउने निर्णय गर्यो । र, अन्य ४ आगन्तुक देशको प्रवेश रोक्यो ।

त्यसबेला आयोजकले कतार विश्वकपको आयोजकको हैसियतमा कतार र एसियन क्षेत्रबाट जापानलाई अतिथि टोलीका रूपमा भित्र्याउने औपचारिक निर्णय पास गरेको थियो । सो निर्णयसँगै आयोजकले यसपटक उत्तरी अमेरिकी क्षेबाट सधैं खेल्दै आएका टोलीको सहभागिता भने रोक्ने निर्णय गरेको थियो ।

यसअघि सो क्षेत्रबाट मेक्सिकोलगायत देशले खेल्थे । मेक्सिकोले सन् १९९३ देखि यता विभिन्न १० संस्करणमा कोपा अमेरिका खेलेको छ । त्यसैगरी, अमेरिकाले पनि यो प्रतियोगिता चारपटक खेलिसकेको छ ।

यससँगै कतार पहिलोपटक कोपा अमेरिका खेल्ने खाडी देश बनेको छ । जापानले भने यसअघि सन् १९९९ मै कोपा अमेरिकामा सहभागिता जनाइसकेको छ ।

यसपटकको कोपा ब्राजिलमा हुँदैछ । प्रतियोगिता आगामी जुन १४ बाट हुँदैछ । सो प्रतियोगिताको साबिक विजेता टोली चिली हो ।

कहिलेबाट हुनेछन् खेलहरू ?

कोपा अमेरिका–२०१९ आगामी जुन १४ बाट सुरु हुनेछ । सो दिनबाट समूह चरणका खेल सुरु भएर जुन २४ सम्म हुनेछन् । त्यसपछि नकआउट चरणका खेल भने जुन २७ बाट सुरु हुनेछन् । प्रतियोगिता ब्राजिलका विभिन्न ५ सहरमा आयोजना हुनेछ ।

यस्तो छ खेल तालिका :

समूह चरणका खेलहरू – जुन १४ देखि जुन २४ सम्म

क्वार्टरफाइनलका खेलहरू जुन २७ देखि जुन २९ सम्म

सेमिफाइनलका खेलहरू – जुलाई २ देखि जुलाई ३ सम्म

तेस्रो स्थानका लागि हुने खेल – जुलाई ६ मा

फाइनल खेल  – जुलाई ७ मा

प्रतियोगिताको पहिलो खेलमा जुन १४ मा आयोजक ब्राजिल बोलिभिया खेल्नेछन् । त्यसपछि अर्को दिन हुने दोस्रो खेलमा भेनेज्वेला र पेरु खेल्नेछन् । प्रतियोगिता आयोजना हुने देश र नेपालको समय फरक पर्ने भएकाले नेपाली समयअनुसार भने यी खेल बिहानीको समयमा हुनेछन् ।

प्रकाशित मिति २० जेष्ठ २०७६, सोमबार १२:१७
Loading...