रोनाल्डो मैले अनुबन्ध गरेका मध्ये सर्वोत्कृष्ट खेलाडी : पेरेज

एजेन्सी, जेठ १४
क्लबका सर्वाधिक सफल र सर्वाधिक गोलकर्ता खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेको करिब एक वर्षपछि रियल मड्रिडका अध्यक्षले सो विषयमा बोलेका छन् । हालसालै एक अन्तर्वार्तामा बोल्दै फ्लोरेन्टो पेरेजले रोनाल्डो आफ्नो कार्यकालमा अनुबन्ध भएका खेलाडीमध्ये सर्वोत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।

रोनाल्डोले गत वर्ष क्लबका अध्यक्षसँग सम्बन्ध बिग्रिएपछि अप्रत्यासित रूपमा क्लब छाडेका थिए । रियलले ३३ वर्षीय रोनाल्डोलाई १०० मिलियन पाउन्डमा इटालियन युभेन्टसलाई बेचेको थियो ।

त्यसपछि रोनाल्डोले केही अन्तर्वार्तामा आफूले रियलका अध्यक्ष पेरेजकै व्यवहारका कारण रियल छाडेको बताउँदै आएका थिए । तर, पेरेज स्वयंले भने यसलाई नकारेका छन् ।

पेरेजले रोनाल्डोको तारिफ गर्दै रोनाल्डोलाई सर्वोत्कृष्ट खेलाडी मात्रै भनेका छैनन्, रोनाल्डोसँग सधैं आफ्नो सम्बन्ध विशेष र सुमधुर रहको समेत बताएका छन् । ‘रोनाल्डो ९ वर्ष रियलमा रहँदा कहिल्यै उनका कारण समस्या भएन । मेरो विचारमा मेरो कार्यकालमा अनुबन्ध भएका मधये उनी सर्वोत्कृष्ट खेलाडी थिए,’ पेरेजले भने ।

पेरेजले रोनाल्डोसँग आफ्नो सम्बन्ध सधैं मित्रवत रहेको पनि बताए । ‘उनीसँग सधैं प्रगाढ सम्बन्ध रह्यो । हामीबीच कुनै बेला पनि समस्या भएन, न त पैसाकै विषयमा भयो,’ पेरेजले प्रष्ट्याए ।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियलमा अनुबन्ध भएका रोनाल्डोले ९ वर्षको बीचमा ४३८ खेलबाट कूल ४५० गोल गरेका थिए ।

प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार १२:१४
Loading...