नेइमारलाई किन हटाइयो ब्राजिलको कप्तानबाट ?

एजेन्सी, जेठ १४
सुपरस्टार खेलाडी नेइमारलाई ब्राजिलको कप्तानको जिम्मेवारीबाट हटाइएको छ । जुन १४ बाट सुरु हुने कोपा अमेरिका खेल्ने टोलीबाट प्रशिक्षक टिटेले नेइमारलाई हटाएका हुन् ।

कोपा अमेरिका खेल्ने ब्राजिलको अन्तिम टोली टोलीमा डिफेन्डर ड्यानी आल्भेसलाई कप्तानको जिम्मेवारी दिइएको छ । नेइमारको कप्तान पद खोसेर टिटेले आल्भेसलाई कप्तान बनाएका हुन् ।

करिब ८ महिनाअघि मात्रै नेइमालाई नै टिटेले टोलीको स्थाीय कप्तान बनाएका थिए । तर, रसिया विश्वकप हुँदै त्यससयता विभिन्न समयमा उनले मैदानमा अनुशासनहीन कार्य गरेको भन्दै टिटेले उनलाई कप्तानबाट हटाएका हुन् ।

‘नेइमारले पछिल्लो समय पटक–पटक गल्ती गरेका छन् । यो कुरा उनलाई थाहा छ,’ टिटेले भने, ‘आवश्यकताअनुसार मैले उनलाई कप्तानबाट हटाएको हुँ ।’

अब कोपामा ब्राजिलको कप्तान आल्भेसले गर्नेछन् । नेइमार र आल्भेस दुवै पिएसजीबाट सँगै खेल्छन् ।

यसअघि ब्राजिलको टोलीको चारपटक कप्तानी गरेका आल्भेसले कोपाअघि दुई मैत्रीपूर्ण खेलको पनि कप्तानी गर्नेछन् । ब्राजिलले कोपाअघि कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

यसपटकको कोपा ब्राजिलमै हुँदैछ । ब्राजिल समूह ‘ए’ मा परेको छ । सो समूहमा ब्राजिलसँगै बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् ।

प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार ०९:३२
Loading...