बालोन डिओर अवार्डबारे लिजेन्ड रिभाल्डोको यस्तो दाबी

एजेन्सी, जेठ १४
स्पेनिस बार्सिलोनाका लिजेन्ड ब्राजिलियन खेलाडी रिभाल्डोले सन् २०१९ का व्यक्तिगत सबैजसो अवार्ड लिओनल मेस्सीले जित्ने दाबी गरेका छन् । मेस्सीले यो सिजन व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरेको भन्दै उनी सबै व्यक्तिगत अवार्डमा पहिलो दाबेदार रहने बताए ।

यस सिजन ३१ वर्षीय अर्जेन्टिनी मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ५१ गोल गरेका छन् उनले २० गोलका लागि असिस्ट गरेका छन् । भलै, बार्सिलोना युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट भने आउट भयो ।

तर, यी सबका बावजुत पनि रिभाल्डो भने मेस्सीजत्तिको योग्य खेलाडी बालोन डिओरका लागि अरू नरहेको बताउँछन् । ‘मेरो हिसाबमा मेस्सी बालोन डिओर र फिफा बेस्ट प्लेयर सबै उपाधि जित्दैछन्,’ रिभाल्डोले भने, ‘मैले आजका दिनसम्म मेस्सीको प्रतिस्पर्धी कोही देखेको छैन ।’

रिभाल्डोले मेस्सीको कूल गोल संख्या र असिस्ट संख्याको नजिक कोही पनि नरहेको बताए । ‘मेस्सीको गोल र असिस्टलाई पछ्याउने कोही पनि छैन,’ रिभोल्डोले भने, ‘५० भन्दा बढी गोल र २० असिस्ट गर्नु सामान्य कुरा होइन ।’

रिभाल्डोले बालोन डिओर टिमले जितेको उपाधि भन्दा पनि व्यक्तिगत प्रदर्शन हेरेर दिइने भएकाले बार्सिलोना च्याम्पियन्स लिग र कोपामा हार्दा मेस्सीको बालोन डिओर जित्ने सम्भावनामा कुनै असर नपुग्ने बताए । ‘यो खेलाडीको व्यक्तिगत प्रदर्शनलाई हेरेर दिइने अवार्ड हो । त्यसैले बार्सिलोना हारेका प्रतियोगिताले बालोन डिओरमा मेस्सीलाई कुनै असर गर्दैन,’ उनले थपे ।

मेस्सी जुन १४ बाट अर्जेन्टिनी टोलीको कप्तानी गर्दै कोपा अमेरिका खेल्दैछन् । उनी २०१८ को रसिया विश्वकपपछि पहिलोपटक अफिसियल प्रतियोगिता खेल्दैछन् ।

२०१९ को बालोन डिओरका लागि मेस्सीसँगै इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ । जुन १ मा लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिगको फाइनल खेल्दैछन् ।

प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार ०६:४६
Loading...