एजेन्सी, जेठ १४
व्यक्तिगत प्रदर्शनका हिसाबले क्रिस्टियानो रोनाल्डोले पहिलो सिजन इटालीमा प्रभावशाली बनाए पनि विगतका सिजनको तथ्यांक हेर्दा उनको यो १० वर्षयताकै सबैभन्दा खराब सिजन भएको छ ।
रोनाल्डो गत वर्ष रियल मड्रिडबाट १०० मिलियन पाउन्डमा युभेन्टसमा अनुबन्ध भएका थिए । युभेन्टसबाट पहिलो सिजन उनले सुपर कोपा इटालिया र सिरी ‘ए’ गरी दुई घरेलु उपाधि जिते ।
पहिलो सिजनमा उनले सबैखाले प्रतियोगिता गरी कूल ४३ खेलबाट २८ गोल गरे । उनले १३ गोलका लागि असिस्ट गरे । दुवै उपाधि जित्दा रोनाल्डोले व्यक्तिगत रूपमा उच्च प्रदर्शन गरे ।
तर, युभेन्टसमा पहिलो सिजनमा गरेको २८ गोल भने पछिल्लो १० वर्षयताकै सबैभन्दा कमी हो । रियलमा छँदा रोनाल्डोले हरेक सिजन कम्तीमा ३० भन्दा बढी गोल गर्दै आएका थिए । उनले सिजन २००९÷१० को डेब्यु सिजनमै कूल ३३ गोल गरेका थिए ।
त्यसपछि ९ वर्ष रियलमा बिताएका उनले कूल ४३८ खेलबाट ४५० गोल गर्दै क्लबको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बने । त्यसक्रममा उनले ६ सिजन ५० भन्दा बढी गोल गरेका छन् । उनले सबैभन्दा बढी सिजन २०१४÷१५ मा ६१ गोल तथा सिजन २०११÷१२ मा ६० गोल गरेका थिए ।
रोनाल्डोले रियलमा ९ वर्ष बिताउनेक्रममा सबैभन्दा कम गोल सिजन डेब्यु सिजनमा ३३ र त्यसपछि २०१६÷१७ मा ४२ गोल गरेका थिए ।
रोनाल्डोको विगतको सिजनको तथ्यांक :
- २००९/१० – ३३ गोल (डेब्यु सिजन)
- २०१०/११ – ५३ गोल
- २०११/१२ – ६० गोल
- २०१२/१३ – ५५ गोल
- २०१३/१४ – ५१ गोल
- २०१४/१५ – ६१ गोल
- २०१५/१६ – ५१ गोल
- २०१६/१७ – ४२ गोल
- २०१७/१८ – ४४ गोल (अन्तिम सिजन)
- २०१८/१९ – २८ गोल (डेब्यु सिजन)