हाजार्डले जिते अर्को अवार्ड

एजेन्सी, जेठ १४
इंग्लिस क्लब चेल्सीका इडेन हाजार्डले अर्को अवार्ड जितेका छन् । उनले प्रिमियर लिगअन्तर्गत यो सिजनको ‘पिएफए फ्यान्स प्लेयर अफ् दि इयर’को अवार्ड जितेका हुन् ।

सो अवार्डका लागि म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ, बर्नाडो सिल्भा र सर्जियो अगुइरो, लिभरपुलका भर्जिल भान डिज्क र साडियो माने मनोनयनमा परेका थिए । हाजार्डले उनीहरूलाई पछि पार्दै अवार्ड हात पारे । यो अवार्ड फुटबल राइटर्स एसोसिएसनले प्रदान गर्छ ।
फ्यानहरूको भोटिङका आधारमा विजेता घोषणा गरिएको हो । बेल्जियन खेलाडी हाजार्डले कूल ३४ प्रतिशत मत पाए । यो सिजन उनले १६ गोल गर्दै १५ गोलका लागि असिस्ट गरेका थिए ।

यससँगै हाजार्डले सन् २००५ पछि चेल्सीबाट यो अवार्ड जितेका हुन् । यसअघि सो वर्ष फ्रान्क लाम्पार्डले यो अवार्ड चेल्सीबाट जितेका थिए ।

प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार ०२:४०
Loading...