केन चोटमुक्त हुँदै मैदान फर्किए, च्याम्पियन्स लिगको फाइनल खेल्ने

एजेन्सी, जेठ १३
चोटसँग जुधिरहेका स्टार फरवार्ड ह्यारी केनले च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् । लामो समय चोटसँग जुधेका उनी टिममसँगै प्रशिक्षणमा फर्किएका छन् ।

जुन १ मा हुने च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर लिगका दुई क्लब लिभरपुल र टोटनह्याम भिड्दैछन् । केन च्याम्पियन्स लिगमा अन्तिम आठमा पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीविरुद्ध खेल्नेक्रममा घाइते भएका थिए ।

क्लब टोटनह्यामले केनले टिमसँगै प्रशिक्षण गर्दै गरेका तस्बिर सार्वजनिक गरेको छ । फाइनल खेल स्पेनस्थित एथ्लेटिको मड्रिडको घरेलु रंगशाला वान्डा मेट्रोपोलिसनामो हुँदैछ ।

तर, अझै पनि केनले फाइनल सुरुआती टिमबाटै खेल्छन् वा बेन्चबाट खेल्छन् भन्ने निश्चित भइसकेको छैन । टोलीका प्रशिक्षक पोचेटिनोले केनबारे अन्तिम निर्णय लिन बाँकी रहेको बताएका छन् । ‘उनी अहिले ठीक छन् । उनले लिभरपुलविरुद्ध सुरुआती टोलीबाट नखेले पनि सहभागिता जनाउनेछन् ।’

च्याम्पियन्स लिगपछि केनले युइएफए नेसन्स लिगमा सेमिफाइनल खेल पनि खेल्नेछन् । इंग्ल्यान्डले सेमिमा नेदरल्यान्ड्स प्रतिस्पर्धी पाएको छ ।

प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार १०:३१
Loading...