क्याम्प नोउमा मेस्सीले मलाई ‘गधा’ भनेर गाली गरे : मिल्नर

एजेन्सी, जेठ १३
इंग्लिस क्लब लिभरपुलका कप्तान जेम्स मिल्नरले स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आफूलाई खेल दौरान ‘मुख छाडेको’ आरोप लगाएका छन् । च्याम्पियन्स लिगअन्तर्गत मे १ मा बार्सिलोनाको घर क्याम्प नोउमा भएको सेमिफाइनलको पहिलो लेगको खेल खेल्नेक्रममा मेस्सीले आफूलाई ‘गधा’ भनेको उनले बताएका छन् ।

बार्सिलोनाको घरमा भएको सो खेल बार्सिलोनाले ३–० ले जितेको थियो । सो खेल दौरान मेस्सी र मिल्नरबीच एकपटक मैदानमा ट्याकल भएको थियो । त्यसक्रममा उनीहरूले विवादसमेत गरेका थिए ।

अघिल्लो दिन इंग्लिस मिडियासँग बोल्दै मिल्नरले मेस्सीले आफूलाई स्पेनिस भाषामा ‘गधा’ भनेर गाली गरेको बताएका हुन् । आफूले त्यत्तिबेलै स्पेनिस भाषा नबुझे पनि खेलपछि आफूले थाहा पाएको मिल्नरले बताए ।

‘उनी खुसी थिएनन् । मैले फउल गरेको भन्दै उनी मसँग रिसाए । उनी स्पेनिस भाषामा बोलिरहेका थिए । उनले मलाई बुर्रो भनेर गोली गरे, यसको अनुवाद गधा हुन्छ,’ मिल्नरले भने ।

मिल्नरले मेस्सीले आफूलाई गाली गरेको शब्द स्पेनिस फुटबलमा प्रयोग हुने गरेको आफूले पछि थाहा पाएको बताए । ‘तर, यो शब्द स्पेनिस भाषामा फुटबलमा प्रयोग हुने शब्द रहेछ । यस्तो शब्द खेलाडीमाथि फउल गरिएको सन्दर्भमा प्रयोग हुने मैले पनि थाहा पाएँ,’ मिल्नरले प्रष्ट्याए ।

त्यसबेला लिभरपुल बार्सिलोनाको घरमा ३–० ले हारे पनि पछि आफ्नो घर एनफिल्डमा ४–० जितेर बार्सिलोनालाई निराश बनाएको थियो ।

प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार १०:४२
Loading...