अब बालोन डिओर जित्न मेस्सीले गर्नुपर्ने यी दुई काम

एजेन्सी, जेठ १३
सन् २०१९ को बालोन डिओर अवार्ड कसले जित्ला ? यसको चर्चा र अड्कलबाजी गर्नेक्रम बढेको छ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड भएकाले यसमाथि सबैको नजर हुने भइहाल्यो । २०१८/१९ को सिजन सकिन लागेसँगै अवार्ड दाबेदार खेलाडीहरूको बारेमा टिकाटिप्पणी बढेको छ ।

हालसम्मको अवस्थामा स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी नै सबैभन्दा दाबेदार देखिएका छन् । बार्सिलोना यो सिजन युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे कपबाट आउट भएपनि ला लिगा च्याम्यिन बन्यो । त्यस दौरान मेस्सीको व्यक्तिगत प्रदर्शन शानदार रह्यो ।

मेस्सीपछि इंग्लिस टिम लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकको चर्चा छ । लिभरपुलले यो सिजन कुनै पनि घरेलु उपाधि नजिते पनि ऊ च्याम्पियन्स लिगको फाइनलमा छ । र, उसलाई उपाधि दाबेदार मानिएको छ । उसले उपाधिका लागि टोटनह्यामसँग जुन १ मा खेल्दैछ ।

मेस्सीलाई झट्का !

सेमिफाइनलमा लिभरपुलसँग हारेर च्याम्पियन्स लिगबाट आउट नहुँदासम्म बार्सिलोना ट्रिबेल उपाधिको दौडमा थियो । तर, उसलाई लिभरपुलले निराश बनायो । त्यसको दुई सातापछि बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा भ्यालेन्सियासँग पराजित हुँदै उपाधि जित्नबाट चुक्यो ।

यी दुई उपाधि हारेपछि बालोन डिओरमा मेस्सीको दाबेदारीमा ठूलो झट्का लागेको छ । तर, यति हुँदाहुँदै पनि मेस्सी अझै पनि बालोन डिओरका प्रमुख दाबेदार नै हुन् । किनभने, उनको जति शानदार व्यक्तिगत प्रदर्शन अन्य खेलाडीको छैन ।

तर, जुन १ मा हुने युरोपियन च्याम्पियन्स लिग लिभरपुलले जितेको खण्डमा भने मेस्सीलाई भान डाइकले कडा टक्कर दिनेछन् ।

बालोन डिओर जित्न मेस्सीले गर्नुपर्ने यी दुई काम

जारी सिजन व्यक्तिगत रूपमा मेस्सीको प्रदर्शन उच्च छ । उनले बार्सिलोनालाई ला लिगाको च्याम्पियन बनाउनेक्रममा कूल ३६ गोल गरे । उनले सबैखाले प्रतियोगिता गरेर कूल ५१ गोल गरेका छन् भने २० गोलका लागि असिस्ट गरेका छन् ।

उनले ला लिगाबाट सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन बुटसमेत जिते । यसबाहेक पनि मेस्सीका नाममा थुप्रै कीर्तिमान छन् । तर, यी सबका बावजुत पनि मेस्सीले बालोन डिओर जित्नेमा ढुक्क हुने स्थिति छैन । त्यसका लागि मेस्सीले दुई काम गर्नुपर्छ ।

पहिलो, बालोन डिओर जित्न मेस्सीले जुन १४ बाट ब्राजिलमा हुने कोपा अमेरिकामा लयमा प्रदर्शन गर्न सक्नुपर्छ । अर्जेन्टिनाका लागि ठूला उपाधि जित्न नसकेको भनेर चर्को आलोचना खेप्दै आएका मेस्सीले यसपटक देशका लागि उपाधि जित्ने अवसर छ ।

यदि कोपामा मेस्सीले उच्च प्रदर्शन गर्दै उपाधि जिताउन योगदान दिएको खण्डमा बालोन डिओर मेस्सीका लागि पक्काजस्तै हुनेछ । यदि अर्जेन्टिना फाइनल पुगेर उपाधि जित्न नसकेको खण्डमा मेस्सीको व्यक्तिगत प्रदर्शन उच्च रहे पनि उनको दाबेदारी कायमै रहनेछ । किनभने, बालोन डिओर खेलाडीको व्यक्तिगत प्रदर्शनलाई हेरेर दिइने अवार्ड हो ।

दोस्रो, नयाँ सिजनको प्रदर्शन । बालोन डिओर वर्षभरिको प्रदर्शनलाई हेरेर दिइने भएकाले अर्को सिजनको प्रदर्शन पनि मानक हुनेछ । भर्खर मे महिना चलिरहेकाले २०१९ को डिसेम्बर महिनासम्मको प्रदर्शनलाई पनि पर्खिनुपर्ने हुन्छ ।

त्यसैले सिजन २०१९/२० मा को आधा सिजनसम्म मेस्सीले बार्सिलोनाबाट गर्ने प्रदर्शन पनि बालोन डिओरका लागि आधार हुनेछ । नयाँ सिजनमा उनले राम्रो प्रदर्शन गर्न सके बालोन डिओरमाथि उनको दाबेदारी थप बढ्नेछ ।

यद्यपि, मेस्सीका लागि बालोन डिओर जित्ने–नजित्ने भन्ने कुरा धेरै हदसम्म टुंगो लगाउने प्रतियोगिता भनेको कोपा अमेरिका नै हो ।

प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार ०६:५७
Loading...