‘निराशा’ले थलिएका मेस्सी : के गर्लान् कोपा अमेरिकामा ?

एजेन्सी, जेठ १३
तीन साता अघिसम्म स्पेनिस बार्सिलोना यो सिजन तीन ठूला उपाधि जित्ने दौडमा थियो । घरेलु लिग ला लिगाको च्याम्पियन बनेलगत्तै उसले युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस टिम लिभरपुलसँग सेमिफाइनल खेल्यो । आफ्नो घरमा भएको पहिलो लेग ३–० ले जितेर बार्सिलोना झन् हौसिएको थियो ।

तर, जब बार्सिलोना दोस्रो लेग खेल्न लिभरपुलको घर एनफिल्ड पुग्यो, त्यहाँ ऊ निरीह बन्यो । खराब प्रदर्शन गरेको बार्सिलोना ४–० ले हार्दै लगातार चौथो वर्ष युरोपको सबैभन्दा ठूलो प्रतियोगिताबाट आउट भयो । सो हारबाट बार्सिलोनाको टोलीमा ठूलो हलचल आयो ।

त्यसको ठीक १८ दिनपछि बार्सिलोना दोस्रो घरेलु प्रतियोगिता कोपा डेल रे कपमा पनि भ्यालेन्सियासँग २–
१ ले हार्दै उपाधि गुमायो । तीन साताअघिसम्म ट्रिबेल जित्ने दौडमा रहेको बार्सिलोना तीन साता बित्दा सिंगल त्यो पनि घरेलु लिग उपाधिमै सीमित भयो । विश्वकै उत्कृष्ट र सफल फुटबलर लिओनल मेस्सीले कप्तानी गरेको बार्सिलोनाका लागि समग्रमा यो खराब नतिजा हो ।

लगातार दुई प्रमुख उपाधि गुमाउँदा यदि यतिबेला बार्सिलोनाका कुनै खेलाडी सबैभन्दा बढी निराश छन् भने उनी कप्तान मेस्सी हुन् । यो सिजन व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरेका ३१ वर्षीय मेस्सी २०१९ को बालोन डि‘ओर अवार्डको मुख्य दाबेदार थिए । तर, अब यी दुई हारसँगै उनको दाबेदारी निकै कमजोर बनेको छ ।

मेस्सीले यो सिजन युरोपका टप–५ लिगमा ला लिगाबाट ३६ गोलसहित युरोपियन गोल्डेन बुट जिते । सिजनभरि कूल ५१ गोलसहित ५० भन्दा बढी गोल गर्ने एक मात्रै खेलाडी बने । सर्वाधिक धेरै २१ गोलका लागि असिस्ट गर्ने खेलाडी मेस्सी नै हुन् । यीबाहेक उनका नाममा अन्य थुप्रै रेकर्ड छन् ।

तर, टिमलाई उपाधि जिताउन असफल भएपछि मेस्सीको व्यक्तिगत प्रदर्शन छायाँमा पर्ने देखिन्छ । च्याम्पियन्स लिग र कोपाको हारले मेस्सीलाई व्यक्तिगत रूपमा ठूला अवार्डमा ठूलो क्षति पुगेको खेल पण्डितहरू बताउँछन् ।

चरम निराशा लिएर कोपा अमेरिकामा !

बार्सिलोनाका लागि व्यक्तिगत रूपमा उच्च प्रदर्शन गरे पनि मेस्सी यतिबेला चर्को दबाब र निराशामा छन् । च्याम्पियन्स लिगबाट बाहिरिएपछि उनमा देखिएको निराशा र उनले बोलेका कुराबाट पनि मेस्सी कति निराश छन् भन्ने कुरा थाहा हुन्छ ।

झन् कोपा डेल रे पनि हारेपछि मेस्सी निराशाले थलिएका छन् । उनीमाथि अझै दबाब बढेको छ । यी दुई हारले मेस्सीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता कोपा अमेरिकामा ठूलो असर पुग्ने देखिन्छ ।

जुन १४ बाट कोपा अमेरिका ब्राजिलमा हुँदैछ । मेस्सी २०१८ को रसिया विश्वकपपछि पहिलोपटक अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा टोलीमा फर्किएका छन् । तर, क्लब फुटबलमा व्यहोरेको खराब हार र निराशाले थलिएका मेस्सीले कोपामा राम्रो प्रदर्शन गर्नेमा ठूलो शंका छ ।

केही समयअघि ९ महिनापछि मेस्सी अर्जेन्टिनी टोलीमा फर्किएको मैत्रीपूर्ण खेलमा पनि उनको टिम भेनेज्वेलासाँग ३–१ ले पराजित भएको थियो । त्यसबेला मेस्सीको प्रदर्शन खराब रहेको थियो । र, उनको चर्को आलोचना भएको थियो ।

३१ वर्ष पुगेका मेस्सी यसपटक देशलाई ठूला उपाधि जिताएर आफ्नो आलोचना कम गर्न चाहन्छन् । ‘देशका लागि केही गर्न नसकेको’ भन्ने आरोप खेप्दै आएका मेस्सीको अन्तर्राष्ट्रिय फुटबलको दुनियाँमा अक्सर आलोचना हुने गर्छ । मेस्सी यसपटक देशलाई कोपा अमेरिका जिताएर आफूमाथि लाग्दै आएको आरोपलाई गलत साबित गर्न चाहन्छन् ।

तर, कोपा अमेरिकाको मुखमा क्लब फुटबलमा लगातार ठूला प्रतियोगिता हारेपछि मेस्सीले राष्ट्रिय टिममा कस्तो प्रदर्शन गर्लान् भन्नेमा धेरैको चिन्ता देखिन्छ ।

अर्को मुख्य कुरा, च्याम्पियन्स लिग र कोपा डेल रे हारेपछि मेस्सीले बालोन डि‘ओर जित्ने सम्भावना कायमै राख्ने अन्तिम अवसर भनेको कोपा अमेरिका नै हो । यस प्रतियोगितामा उनले अर्जेन्टिलाई उपाधि जिताउन सके उनी अझै पनि २०१९ को बालोन डि‘ओरको बलियो दाबेदार बन्छन् ।

तर, यदि अर्जेन्टिनाले कोपा जित्न सकेन र सो प्रतियोगितामा मेस्सीको प्रदर्शन उच्च रहेन भने मेस्सीको हातबाट बालोन डि‘ओर उम्किने पक्काजस्तै छ ।

त्यो बेला लिभरपुलले च्याम्पियनस लिग जिते डच खेलाडी भर्लिल भान डाइक बालोन डि‘ओरका लागि प्रमुख दाबेदार बन्नेछन् । अहिले पनि मेस्सीपछि उनी नै बलिया दोबदार हुन् ।

यता, यो सिजन च्याम्पियन्स लिग जित्न नसके पनि युभेन्टसबाट दुई घरेलु उपाधि जितेका र व्यक्तिगत रूपमा प्रभावशाली प्रदर्शन गरेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डो पनि २०१९ को बालोन डि‘ओरको दाबेदार बन्ने बाटो खुला छ । यदि अर्को महिनाबाट हुने युइएफए नेसन्स लिगमा उनले राम्रो प्रदर्शन गर्न सके र पोर्चुगललाई च्याम्पियन बनाउन योगदान दिए बालोन डि‘ओरमा उनको पनि दाबेदारी बढ्नेछ । सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्ड प्रतिस्पर्धी पाएको छ । अर्को खेलमा इंग्ल्यान्ड र नेदरल्यान्ड भिड्नेछन् ।

यी सबैका बावजुत पनि बालोन डि‘ओरका लागि अर्को सिजनको अधा सिजनसम्म पखिर्नुपर्छ । किनभने, बालोन डि‘ओर वर्षभरिको प्रदर्शनलाई हेरेर दिइने भएकाले २०१९ को डिसेम्बरसम्मको प्रदर्शन पर्खिनुपर्ने हुन्छ । भर्खर मे महिना चल्दैछ र डिसेम्बर आउन अझै ७ महिना बाँकी छ ।

प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार ०३:०३
Loading...