सिजनको अन्तिम खेलमा रोनाल्डोबिनाको युभेन्टसको नमिठो हार !

एजेन्सी, जेठ १३
सिजनको अन्तिम खेलमा लिग च्याम्पियन युभेन्टसले नमिठो हार व्यहोरेको छ । गत राति भएका सिरी ‘ए’को अन्तिम खेलमा युभेन्टस साम्पडोरियासँग उसको घरमा २–० ले स्तब्ध बनेको हो ।

यस खेलमा स्टार खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, मारियो मान्डुज्कीलगायत प्रमुख खेलाडी थिएनन् । आक्रमण लाइन पाउलो डिबाला, काउडराडो र मोइसे किनले सम्हाले पनि उनीहरूले गोल गर्न सकेनन् ।

अवे मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको अन्तिम ७ मिनेटमा साम्पडोरियाले २ गोल हान्यो ।

उसका लागि खेलको ८४औं मिनेटमा जर्जोरे डेफ्रेलले पहिलो गोल गरे भने इन्जुरी समयमा गिनलुका कापरारीले अर्को गोल थपेपछि खेल साम्पडोरियाले २–० ले जित्यो ।

यो हारसँगै युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीको बिदाइ खेल दुखद् भएको छ । युभेन्टसलाई प्रशिक्षकका रूपमा अन्तिम खेल खेलाएका उनको बिदाइ सुखद् हुन सकेन ।

यो हारपछि युभेन्टस ३८ खेलबाट ९० अंक जोड्दै शीर्ष स्थानमा रह्यो । युभेन्टसले पछिल्ला ५ खेलमा एक खेल पनि जित्न सकेन । ऊ २ खेल हार्दा ३ खेल बराबरीमा रोकियो ।

यता, विजयी साम्पडोरिया ५३ अंकसहित लिगको नवौं स्थानमा रहेर सिर्जन पूरा गर्न सफल भयो ।

प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार ०१:२१
Loading...