एजेन्सी, जेठ १२
डच टिम आयाक्सका कप्तानसमेत रहेका युवा खेलाडी माथिस डि लिग्ट भित्र्याउने दौडमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड लागिपरेको छ । यसअघि स्पेनिस बार्सिलोना जान इच्छुक देखिएका १९ वर्षीय युवा खेलाडीका लागि बार्सिलोनाले उनका एजेन्टलाई कमिसनबापतको मोटो रकम तिर्न असशमत भएपछि डि लिग्टको बार्सिलोना सरुवा थप कठिन बनेको छ ।
त्यसो त डि लिग्टलाई म्यानचेस्टर सिटी र इटालियन युभेन्टसले समेत भित्र्याउन चाहेको चर्चा छ । यसैबेला युनाइटेड डि लिग्टका एजेन्टलाई उनले मागेजति रकम तिर्न तयार भएपछि बार्सिलोनालाई धक्का लाग्ने सम्भावना बढेको हो ।
डि लिग्टको बार्सिलोनासँग सम्झैता टुंगिन नसक्नुमा उनले माग गरेको सेवा–सुविधा पनि बाधक रहेको बताइन्छ । उनले बार्सिलोनासँग प्रतिसाता साढे ३ लाख पाउन्ड तलब माग गरेका छन् ।
यो सिजन आयाक्सलाई युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याउन तथा घरेलु लिग र डच कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका उनी प्लेयर अफ् द सिजनसमेत घोषित भएका थिए ।
यसअघि डि लिग्ट भित्र्याउन बार्सिलोनाले आयाक्सका अधिकारीसँग पनि छलफल गरिसकेको छ । उनले पनि आफ्ना सहकर्मी फ्रेन्की डे जोङसँगै बार्सिलोना सर्न इच्छा जाहेर गरे पनि उनका एजेन्टले पाउने कमिसनको रकममा कुरा नमिल्दा बार्सिलोनाले अन्तिम निर्णय लिन सकेको छैन ।
उता, मयानचेस्टर सिटीका डिफेन्डर भिसेन्ट कोम्पनीले यो सिजनसँगै क्लब छाड्ने घोषणा गरिकेकाले सिटी उनको स्थान लिने युवा डिफेन्डरको खोजीमा छ । यदि सिटीले एजेन्टलाई मागअनुसार रकम तिर्न तयार भए उसले बार्सिलोनालाई निराश बनाउँदै डि लिग्ट भित्र्याउने सम्भावना पनि प्रबल छ ।
प्रकाशित मिति १२ जेष्ठ २०७६, आईतवार १४:२५