‘रोनाल्डोले अर्को सिजन ५० गोल गर्छन्’

एजेन्सी, जेठ १२
गत सिजन स्पेनिस रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालीमा पहिलो सिजन समग्रमा प्रभावशाली बनाए । टिमका लागि विगत सिजनझैं धेरै गोल नगरे पनि टिमको सफलतामा उनको भूमिका महत्त्वपूर्ण रह्यो ।

रोनाल्डोकै निर्णायक गोलको मदतमा युभेन्टसले सुपरकोपा इटालियाको उपाधि जित्यो । सिरी ‘ए’ मा उनकै प्रदर्शनको बलमा युभेन्टसले लगातार आठौंपटक उपाधि जित्यो ।

युभेन्टसमा पहिलो सिजन बिताएका रोनाल्डोले समग्रमा २८ गोल गर्दै १३ का लागि असिस्ट गरे । उनले दुई उपाधि जिते । उनले सिरी ‘ए’मा २१ गोल गर्दा च्याम्पियन्स लिगमा ६ गोल गरे भने सुपरकोपामा १ गोल गरे ।

३४ वर्षीय रोनाल्डोको यो तथ्यांकलाई युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले शानदार भनेका छन् । उनले यो पनि बताएका छन् कि, रोनाल्डोले अर्को सिजन ५० गोल गर्छन् ।

यो सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरिसकेका एलेग्रीको नेतृत्वमा आइतबार राति युभेन्टसले अन्तिम खेल सिरी ‘ए’ अन्तर्गत साम्पडोयिासँग खेल्दैछ । सो खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै उनले रोनाल्डोको तारिफ गरे । आजको यस खेलमा रोनाल्डो भने खेल्ने छैनन् । उनी राष्ट्रिय टिममा फर्किसकेका छन् ।

‘३४ वर्षका रोनाल्डोले यहाँ पहिलो सिजन निकै भव्य बनाए । इटालीको लिगमा आएर ३० आसपास गोल गर्नु चानचुने कुरो होइन,’ एलेग्रीले भने, ‘मलाई विश्वास छ, अर्को सिजन उनले ५० गोल गर्छन् ।’

पहिलो सिजन नयाँ लिग र आफ्नै टिमसँग भिज्न समय लागेकाले रोनाल्डोले यसपटक धेरै गोल गर्न नसकेको उनले बताए । ‘उनीजस्ता खेलाडीका लागि उमेर ठूलो कुरा होइन । उनी एकदमै फिट खेलाडी हुन्,’ एलेग्रीले भने, ‘उनी अझै थुप्रै वर्ष खेल्न सक्छन् ।’

एलेग्रीले नयाँ सिजनदेखि युभेन्टसबाट खेल्न लागेका वेल्स खेलाडी आरोन रामेसीको समेत तारिफ गरे । ‘रामेसी ज्यादै प्रभावशाली खेलाडी हुन् । युभेन्टसका लागि उनी महत्त्वपूर्ण हुन्छन्,’ एलेग्रीले भने, ‘मलाई लाग्छ, अर्को सिजन रोनाल्डोसँग उनको उत्कृष्ट तालमेल मिल्नेवाला छ ।’

रामेसीलाई युभेन्टसले गत जनवरीमै अनुबन्ध गरिसकेको थियो । उनी अब औपचारिक रूपमै युभेन्टसका खेलाडी भइसकेका छन् । उनी अट्याकिङ मिडफिल्डमा प्रभावशाली खेलाडी मानिन्छन् ।

प्रकाशित मिति १२ जेष्ठ २०७६, आईतवार १४:००
Loading...