काठमाडौं, जेठ १२
स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेको उपाधि भिडन्तमा बार्सिलोना भ्यालेन्सियासँग हारे पनि कप्तान लिओनल मेस्सीले भने नयाँ रेकर्ड बनाएका छन् ।
गत राति भएको फाइनल खेलमा बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सियाले उपाधि जितेको थियो । टिम २–० ले पछि परेका बेला दोस्रो हाफमा मेस्सीले १ गोल गरे पनि हार टार्न उनको गोल पर्याप्त भएन ।
उपाधि हारेको सो खेलमा मेस्सीले गरेको यो सिजनको ५१औं गोल थियो । यससँग मेस्सीले कोपामा सर्वाधिक धेरै ६ फाइनल खेलमा गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् ।
हालसम्म कोपाका ६ फरक–फरक फाइनल खेलमा कसैले पनि गोल गरेका थिएनन् । तर, अब मेस्सी ६ फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
बार्सिलोनाले यसअघिका चार सिजन लगातार कोपाको उपाधि जितेको थियो । तर, यसपटक पाँचौंपटक उपाधि जित्ने उसको सपना पूरा हुन सकेन ।
यो सिजन बार्सिलोना ला लिगाको च्याम्पियन बन्दा युरोपियन च्याम्पियन्स लिग र कोपाबाट आउट भयो । त्यस दौरान मेस्सीले सबैखाले प्रतियोगिताबाट कूल ५१ गोल गर्दै २० गोलका लागि असिस्ट गरे ।
प्रकाशित मिति १२ जेष्ठ २०७६, आईतवार १२:५५