कोपा हारेपछि पिकेका आफ्नै तर्क, यसरी गरे बचाउ

एजेन्सी, जेठ १२
युरोपियन च्याम्पियन्स लिग फुटबलबाट आउट भएको ठीक १८ दिनपछि स्पेनिस बार्सिलोना दोस्रो घरेलु उपाधि जितेर पीडामा मल्हम लगाउन चाहन्थ्यो । तर, गत राति भएको कोपा डेल रे फुटबलको फाइनल खेलमा बार्सिलोनालाई भ्यालेन्सियाले २–१ ले स्तब्ध बनाउँदै उपाधि मात्रै जितेन, बार्सिलोनाको घाउमा नुनचुक पनि छरिदियो ।

दुई साताअघिसम्म ट्रिबेल उपाधि जित्ने दौडमा रहेको बार्सिलोना अन्ततः मात्रै एक उपाधिमा सीमित भयो । बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा इंग्लिस टिम लिभरपुलसँग ४–० ( समग्रमा ४–३) को लज्जास्पद हार व्यहोर्दै लगातार चौथो वर्ष आउट भयो । त्यसपछि ऊ ला लिगाको चौथो स्थानको टिम भ्यालेन्सियासँग पराजित हुँदा दोस्रो घरेलु उपाधि जित्नबाट चुक्यो ।

गत राति भ्यालेन्सियासँग हारेपछि बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले टिम र प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको बचाउ गरेका छन् । उनले भ्यालेन्सियासँग आफूहरूले उत्कृष्ट खेल्न नसकेको बताए ।

‘हामीले आफ्नो स्तरअनुसार खेल्न सकेनौं र उनीहरूले हामीबाट नतिजा खोसे । फुटबलमा खेल जित्न गोल चाहिन्छ, जुन उनीहरूले गरे,’ पिकेले भने, ‘हामी चाँडै खेलमा २–० ले पछि परेपछि उनीहरू अर्कै अवस्थामा पुगे । ’

पिकेले खेल दौरान आफूहरूले ठाउँ–ठाउँमा गल्ती गरेको पनि स्वीकारे । ‘हो, हामीले गल्ती गरेकै हो । दुईटै गोल हामीले सावधान नहुँदा खायौं,’ पिकेले भने, ‘उनीहरू जितको हकदार थिए । ’

पिकेले प्रशिक्षक भाल्भर्डेको बचाउ गरे । बार्सिलोना च्याम्पियनस लिग र कोपा हारेपछि भाल्भर्डेले क्लब छाड्ने अनुमानपछि आफूहरू भाल्भर्डेकै पक्षमा रहेको पिकेले बताए । ‘भाल्भर्डेले जे गरिरहेका छन्, उनले आफ्नो काम शतप्रतिशत गरिरहेका छन् । हामी उनको पक्षमा छौं,’ पिकेले भने, ‘उनले जागिर छाड्नुपर्छ भन्ने मलाई लाग्दैन ।’

पिकेले आफूहरूका लागि यो सिजन मध्यम रहेको बताए । ‘हामीले दुई प्रमुख उपाधि जित्न सकेनौं । नतिजाका हिसाबले यो औसत सिजन रह्यो,’ उनले भने, ‘हामी ला लिगामा मात्रै सीमति हुने टिम होइनौं ।’

प्रकाशित मिति १२ जेष्ठ २०७६, आईतवार ०५:०२
Loading...