म त्यस्तो व्यक्ति हुँ, जो सधैं नयाँ चुनौती चाहन्छ : नेइमार

एजेन्सी, जेठ १२
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले नयाँ सिजनअघि क्लब छाड्ने चर्चाबीच उनी स्वयंले यसको जनाउ दिएका छन् । उनले आफू सधैं नयाँ चुनौती मन पराउने व्यक्ति भएको भन्दै उनले आफू सरुवाको मनस्थितिमा रहेको संकेत दिएका हुन् ।

समरमा नेइमार पिएसजी छाडेर स्पेनिस रियल मड्रिड जाने चर्चा छ । नेइमार २ वर्षअघि बार्सिलोना छाडेर विश्वकै कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका थिए ।

तर, पेरिसमा ठूला उपाधि जित्न नसकेपछि उनी निराश छन् । जसका कारण उनले पिएसजी छाड्न चाहेको बताइन्छ । कोपा अमेरिका खेलको तयारीमा रहेका नेइमारले हालसालै एक कार्यक्रममा बोल्दै भने, ‘म त्यस्तो व्यक्ति हुँ, जो सधैं नयाँ चुनौती मन पराउँछु ।’

नेइमारले भविष्य कसैले नदेखेको पनि बताए । ‘अहिले पिएसजीसँग मेरो सम्झौता छ । तर, भविष्य कसले देखेको छ र ?’

बार्सिलोना छाडेर पिएसजी गएदेखि नै नेइमार चोटसँग जुधिरहेका छन् । उनले पहिलो र दोस्रो सिजन लामो समय चोटसँग जुधेर बिताए । दोस्रो सिजन उनी अस्वभाविक प्रतिबन्धमा समेत परे ।

अर्को सिजन नेइमारले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका तीन खेल गुमाउनेछन् ।

प्रकाशित मिति १२ जेष्ठ २०७६, आईतवार ०४:०५
Loading...