ग्रीजम्यान भित्र्याउन मेस्सी बाधक कि समाधान ?

एजेन्सी, जेठ ११
स्पेनिस बार्सिलोनाले नयाँ सिजनका लागि फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान भित्र्याउने कसरत गरिरहेको छ । यो कुरा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे स्वयंले पनि स्वीकारेका छन् ।

बार्सिलोना सर्ने चर्चामा रहेका २८ वर्षीय खेलाडीले केही समयअघि मात्रै क्लब एथलेटिको मड्रिड छाड्ने घोषणा गरेका थिए । त्यसपछि बार्सिलोनालाई ग्रीजम्यान भित्र्याउन थप सहज भएको छ ।

तर, पछिल्लो समय स्पेनिस मिडियाले भने बार्सिलोनाका केही प्रमुख खेलाडी ग्रीजम्यानको पक्षमा नरहेको रिपोर्ट छापेका थिए । खास गरी कप्तान लिओनल मेस्सीसहित केही खेलाडीले ग्रीजम्यानभन्दा युवा खेलाडी अनुबन्ध गर्नुपर्ने अडान लिएको बताइन्छ ।

यद्यपि, बार्सिलोना अझै पनि विश्वकपविजेता खेलाडी भित्र्याउने दौडबाट भने पछि हटिसकेको छैन । उसले यसै साता ग्रीजम्यानको पक्षमा निर्णय लिने सम्भावना छ ।

शनिबार राति बार्सिलोनाले कोपा डेल रे फुटबलमा भ्यालेन्सियासँग उपाधि भिडन्त गर्दैछ । सो खेलअघिको पत्रकार सम्मेलनमा मेस्सीलाई ग्रीजम्यान अनुबन्धबारे सोधिएको थियो । सोक्रममा मेस्सीले खेलाडी भित्र्याउने वा प्रतिस्थापन गर्ने विषयमा आफ्नो कुनै हात नरहने बताए ।

पत्रकारको प्रश्नमा उनले सटिक उत्तर दिए । उनले आफ्नो बचाउ गर्दै भने, ‘ग्रीजम्यान ? यस्तो विषयमा हामीले आफ्नो विचार दिँदैनौं । म एक खेलाडी हुँ, यसमा मेरो भूमिका हुँदैन ।’

मेस्सीले नयाँ सिजनमा टिममा फेरबदल हुने कुरा स्वीकारे । ‘यो साँचो हो, नयाँ सिजन हामीमा केही परिवर्तन हुनेछ ।’

प्रकाशित मिति ११ जेष्ठ २०७६, शनिबार १५:१३