एजेन्सी, जेठ ११
स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेमा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि ला लिगा च्याम्पियन टोली बार्सिलोना र चौथो स्थानको भ्यालेन्सिया आमनेसामने हुँदैछन् । खेल आज राति नेपाली समयअनुसार १२ः४५ बजेबाट सुरु हुँदैछ ।
सो प्रतियोगिताअघि बार्सिलोना भने चोटले थलिएको छ । उसका अधिकांश प्रमुख खेलाडी घाइते छन् । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले ८ जना चोटग्रस्त खेलाडीसमेतलाई समेटर प्रारम्भिक टिम घोषणा गरेका छन् ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको भ्यालेन्सियाविरुद्ध उत्रिँदा आज बार्सिलोनाको टिममा पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन, डिफेन्डर, नेल्सन सेमेडो हुनेछैनन् ।
त्यसैगरी, मिडफिल्डर फिलिपे कोउटिन्हो, अर्थुर मेलो पनि आज हुनेछैनन् । स्टार फरवार्ड लुइस स्वारेजले पनि यो खेल गुमाउनेछन् । बार्सिलोनाको आक्रमण लाइनका प्रभावकारी विंगर उसामान डेम्बेले पनि आज खेल्नेछैनन् ।
त्यस्तै, मिडफिल्डर राफिन्हा र फरवार्ड केभिन प्रिन्स बोटेङ पनि आजको खेलमा हुनेछैनन् । यी सबैजना खेलाडी बार्सिलोनाको प्रारिम्भक टोलीमा छन् । तर, मेडिकल टिमबाट पास नपाईकन टोलीमा राखिएकाले उनीहरूले यो खेल खेल्नेछैनन् ।
गोलपोस्ट सम्हाल्ने तथा रक्षापंक्तिदेखि लिएर आक्रमण लाइनसमेतका खेलाडी घाइते भएकाले आज अर्नेस्टो भाल्भर्डेलाई भ्यालेन्सियाविरुद्ध टिम कसरी बनाउने भन्नेमा चिन्ता छ । उनले महत्त्वपूर्ण खेलाडी टोलीबाहिर रहेका बेला कसरी र कुन फर्मेसनको टिम बनाउँछन् भन्ने चासो छ ।
यता, भ्यालेन्सिया भने आज ठीकठाक बार्सिलोनाविरुद्ध उत्रिँदै छ । मानसिक रूपमा दबाबमा रहेको र चोटले थलिएको बार्सिलोनालाई स्तब्ध बनाएर ऊ ११ वर्षपछि कोपाको उपाधि जित्ने दौडमा छ ।
प्रकाशित मिति ११ जेष्ठ २०७६, शनिबार ०४:४२