मेस्सीले गोल्डेन बुटमा बनाएका यी दुई ‘दुर्लभ’ रेकर्ड

काठमाडौं, जेठ ११
स्पेनिस बार्सिलोनाका कप्तानसमेत रहेका फवार्ड लिओनल मेस्सीले सिजन २०१८/१९ को युरोपियन गोल्डेन बुट जिते । उनले फ्रेन्च क्लब पिएसजीका फरवार्ड केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै यो सिजन गोल्डेन बुटमा बाजी मारे ।

मेस्सीले यो सिजन ला लिगामा कूल ३६ गोल गरे । पिएसजीका एमबाप्पेले कूल ३३ गोल गरे । युरोपका टप–५ लिगमा सर्वाधिक गोलकर्ताको हैसियतमा मेस्सीले करिअरको छैटौं गोल्डेन बुटमा बाजी मारे । ३१ वर्षीय मेस्सीले छैटौं गोल्डेन बुट जित्दा दुई कीर्तिमानसमेत बनाएका छन् ।

<strong>सर्वाधिक धेरै गोल्डेन बुट विजेता</strong>

१५ वर्षदेखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सी अब युरोपियन टप लिगमा सर्वाधिक धेरै गोल्डेन बुट जित्ने खेलाडी बनेका छन् । उनले कूल ६ पटक यो अवार्ड जितेका छन् । ६ पटक गोल्डेन बुट जित्ने उनी एक्ला खेलाडी हुन् ।

उनीपछि दोस्रो स्थानमा रियल मड्रिडका पूर्व तथा हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो छन् । उनले कूल ४ पटक यो अवार्ड जितेका छन् । रोनाल्डोले इंग्लिस कलब म्यानचेस्टर युनाइटेडमा छँदा १ पटक र रियलबाट ३ पटक यो अवार्ड जितेका थिए ।

मेस्सीले २०१०, २०१२, २०१३, २०१७, २०१८ र २०१९ गरी ६ पटक यो अवार्ड जिते । रोनाल्डोले सन् २००८, २०११, २०१४ र २०१५ गरी ४ पटक यो अवार्ड जितेका छन् ।

<strong>गाल्डेन बुटमा ह्याट्रिक गर्ने पहिलो खेलाडी !</strong>

यस सिजन गोल्डेन बुट जितसँगै ३१ वर्षीय अर्जेन्टिनी फरवार्ड लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि कुनै पनि खेलाडीले लगातार तीन सिजन गोल्डेन बुट जितेका थिएनन् ।

तर, मेस्सीले २०१७, २०१८ र २०१९ गरी लगातार तीन सिजन गोल्डेन बुट जितेर ह्याट्रिक गरे । युरोपियन गोल्डेन बुट मेस्सी र रोनाल्डोपछि विभिन्न ९ जना खेलाडीले समान २–२ पटक जितेका छन् ।

प्रकाशित मिति ११ जेष्ठ २०७६, शनिबार ०६:०१
Loading...