कोपा डेल रे : उपाधिका लागि आज बार्सिलोना र भ्यालेन्सिया भिड्दै !

काठमाडौं, जेठ ११
स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेमा आज उपाधि भिडन्त हुँदैछ । सिजन २०१८/१९ को उपाधिका लागि ला लिगा च्याम्पियन बार्सिलोना र लिगको चौथो स्थानको भ्यालेन्सिया भिड्दैछन् ।

खेल ला लिगा टोली रियल बेटिसको घरेलु रंगशाला बेनिटो भिल्लामरिन स्टेडियममा आज राति (नेपाली समयअनुसार आइतबार बिहान) १२ः४५ बजेबाट सुरु हुँदैछ ।

बार्सिलोना कोपा सर्वाधिक धेरै ३० पटक जित्ने टोली हो । त्यसपछि २३ उपाधिसहित एथ्लेटिक बिल्बाओ रहेको छ भने रियल मड्रिड १९ उपाधिसहित तेस्रोमा छ । आज बार्सिलोनासँग भिड्न लागेको भ्यालेन्सियाले यो उपाधि ७ पटक जितेको छ ।

कोपाको उपाधि बार्सिलोनाले पछिल्ला चार सिजन लगातार जित्दै आएको छ । सिजन २०१४/१५ देखि यता उसले चारपटक फाइनल खेल्दा चारपटक नै उपाधि जितेको छ । भ्यालेन्सियाले भने सिजन २००७/०८ मा गेटाफेलाई हराएर यो उपाधि जितेयता पुनः जित्न सकेको छैन ।

आज यो उपाधि जितेर बार्सिलोना सिजनको दोस्रो घरेलु उपाधि जित्न चाहन्छ । ऊ यसअघि ला लिगाको च्याम्पियन बनिसकेको छ भने युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा इंग्लिस टिम लिभरपुलसँग ४–० (समग्रमा ४–३) ले पराजित हुँदै बाहिरिएको थियो ।

बार्सिलोना लगातार पाँचौंपटक कोपा जितेर यो सिजनलाई थप उपलब्धिमूलक बनाउन चाहन्छ । त्यसका लागि उसले पछिल्लो समय उत्कृष्ट लयमा रहेको भ्यालेन्सियालाई हराउनुपर्छ ।

ला लिगामा बार्सिलोनाले पछिल्ला ५ खेलमा ४ खेल जितेर एक खेल हारेको थियो । भ्यालेन्सियाले भने दुई खेल हारेर ३ खेल जितेको थियो । भ्यालेन्सिया पछिल्ला तीन खेलमा लगातार विजयी हुँदै आएको छ ।

यो सिजन भ्यालेन्सियाले ला लिगामा उत्कृष्ट पुनरागमन गरेको थियो । लिगको चौथो साताको खेल सकिँदा १७औं स्थानमा रहेको उसले ३८औं साताको खेल सकिँदा चौथो स्थानमा रहेर अर्को सिजनका लागि आफूलाई च्याम्पियन्स लिगका लागि सुरक्षित गर्न सफल भयो ।

आजको खेलमा बार्सिलोनाको टोलीमा व्यापक फेरबदल हुनेछ । बार्सिलोनाका ८ जना खेलाडी चोटग्रस्त छन् । तर, उनीहरू सबैलाई प्रारम्भिक टोलीमा राखिएको छ । मेडिकल पास पाइनसकेका उनीहरूले आजको खेल खेल्नेछैनन् ।

आज बार्सिलोनाको टोलीमा पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन, फरवार्ड लुइस स्वारेज, मिडफिल्डर फिलिपे कोउटिन्हो र अर्थुर मेलो, विंगर उसामान डेम्बेलेलगायत प्रमुख खेलाडी हुनेछैनन् ।

यता, भ्यालेन्सियाको टोलीमा भने आज सबै खेलाडी उपलब्ध छन् । उसलाई चोटको कुनै समस्या छैन ।

च्याम्पियन्स लिगमा नमिठो हार भोगेर अझै पनि पीडामा रहेको बार्सिलोनामाथि आज भ्यालेन्सिया जित निकाल्दै उपाधि जित्ने दाउमा छ । यो सिजन उच्च मनोबलमा रहेको उसले बार्सिलोनामाथि दबाबपूर्ण खेल खेल्दै उपाधि हत्याउन प्रयास गर्नेछ ।

तर, बार्सिलोनाको टोलीमा कप्तान लिओनल मेस्सी, अर्टुरो भिडाल, जेरार्ड पिके, सर्जी रोवेर्टोलगायत प्रमुख खेलाडीको साथ रहनेछ ।

प्रकाशित मिति ११ जेष्ठ २०७६, शनिबार ०१:३९
Loading...