भावुक हुँदै मेस्सीले भने– ‘बार्सिलोना छाडेर म कहाँ जानु ?’

एजेन्सी, जेठ १०
स्पेनिस नकआउ फुटबल प्रतियोगिता कोपा डेल रेको फाइनल खेलको पूर्वसन्ध्यामा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले भावुक प्रतिक्रिया दिएका छन् । सन् २०१५ पछि पहिलोपटक प्रि–म्याच कन्फ्रेन्समा सहभागी भएका मेस्सीले पत्रकारको थुप्रै प्रश्नको सामना गरे ।

बार्सिलोनाले शनिबार कोपामा यो सिजनको ला लिगाको चौथो स्थानको टोली भ्यालेन्सियासँग उपाधि भिडन्त गर्दैछ । सो खेलअघिको पत्रकार सम्मेलनमा मेस्सीसँगै जेरार्ड पिके र प्रशिक्षक अर्नेस्टो भाल्भर्डे पनि सामेल भए ।

पत्रकार सम्मेलनक्रममा च्यामिपयन्स लिगको पराजयबारे थुप्रै प्रश्नको सामना गरेका मेस्सीले च्याम्पियन्स लिगमा लगातारको नमिठो हार साँच्चै पीडादायी रहेको बताए । ‘एनफिल्डमा जे भयो, त्यो हामी सम्झिन चाहँदैनौं । तर, हामीले विगतबाट पाठ सिक्नुपर्छ । हामीले अघिल्लो वर्ष पनि यस्तै समयको सामना गरेका थियौं । फेरि त्यस्तै भयो,’ मेस्सीले भने, ‘लिभरपुलसँग हामी हार्नुपर्ने थिएन । किन हारियो अहिले सम्झिँदा पनि आफैंसँग चित्त बुझ्दैन । जति मन बुझाए पनि बुझ्दैन । यो अत्यन्तै पीडादायी रात थियो ।’

मेस्सीलाई पत्रकारले ‘बार्सिलोना छाड्नेबारे सोच्नुभएको छ’ भनेर सोध्न भ्याए । सो प्रश्नमा मेस्सी केही भावुक देखिए । अलिबेर घोरिएर मुसुक्क हाँस्दै बोले– ‘बार्सिलोना छाडेर म कहाँ जानु ? हो, हामी फेरि पनि हार्यौं । हामी पीडामा छौं । तर, म र मेरो टिममाथि दायित्व छ । हामी फेरि एक हुँदैछौं ।’

गोल्डेन बुटबारे सोधिएको प्रश्नमा मेस्सीले भने, ‘एनफिल्डबाट फर्किएपछि मैले केही सोचिनँ । यसबारे पनि सोचिनँ । पछि को–को छन् भनेर मैले हेरिनँ पनि । अझै पनि मैले यसबारे सोचेको छैन । हामी भोलि अर्को प्रतियोगितामा फाइनल खेल्दैछौं । मेरो ध्यान टिमलाई कसरी जिताउने भन्नेमा केन्द्रित छ ।’

प्रकाशित मिति १० जेष्ठ २०७६, शुक्रबार १६:१३
Loading...