एजेन्सी, जेठ १०
एक वर्षअघि पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रियल मिड्रड छाड्दा धेरैलाई लागेको थियो– अब रियललाई कठिन पर्नेवाला छ ।
तर, कमैलाई लागेको थियो होला कि, रोनाल्डो हिँडेपछि रियल इतिहासकै सबैभन्दा खराब अवस्थामा पुग्छ । ३४ वर्षीय रोनाल्डो रियलका लागि के र को थिए भन्ने कुरा उनी गएपछि रियलले बिताएको पहिलो सिजन मात्रै हेरे पुग्छ– रियल समग्रमा २० वर्षयताकै सबैभन्दा खराब अवस्थामा छ ।
त्यत्ति मात्रै हैन, यो सिजन बिताउँदा रियल ला लिगामा इतिहासकै सबैभन्दा खराब अवस्थामा रह्यो । जहाँ उसले १२ हार भोग्दै लिग विजेता बार्सिलोनासँग १९ अंकले पछि रह्यो । जब कि, यो ला लिगामा रियलको इतिहासकै फराकिलो अन्तर हो ।
९ वर्ष रियल मड्रिडमा बिताउनेक्रममा ४३८ खेलबाट ४५० गोल गरेका पोर्चुगिज फरवार्ड रोनाल्डो रियल छाडेर हिँडेपछि बेर्नाबेउमा गोलको चर्को खडेरी देखियो । हरेक सिजन औसतमा ५० गोल गर्ने रोनाल्डो हिँडेपछि पहिलो सिजन रियल ठूला उपाधिमा ‘नील’ नै भयो ।
च्याम्पियन्स लिगमा रियल अन्तिम १६ मा नमिठो हार व्यहोर्दै आउट भयो पनि कोपा डेल रे फुटबलमा उसको प्रदर्शन खराब रह्यो । यता, ला लिगामा त रियल सिजन सकिँदा आफ्नो खास प्रतिस्पर्धी बार्सिलोनाभन्दा १९ अंकले पछि रह्यो । जबकि, यी दुई क्लबको इतिहासमा रियल यो सिजन सबैभन्दा फराकिलो अंक दूरीमा रह्यो ।
गत सिजन रियल बार्सिलोनाभन्दा १७ अंकले पछि थियो । तर, यसपटक सो सिजनको भन्दा पनि बढी १९ अंकले पछि रहेर तेस्रो स्थानमा रहँदै बितायो ।
ला लिगामा मात्रै हेर्दा यो सिजन रियलले विपक्षी टिमविरुद्ध कूल ६३ गोल हान्यो । जबकि, गत सिजन रियलले कूल ९४ गोल गरेको थियो ।
गत सिजन रोनाल्डो रियलका लागि घरेलु प्रतियोगितामा कूल ३१ गोलमा सहभागी थिए । उनले २६ गोल गरेका थिए भने ५ गोलका असिस्ट गरेका थिए । जब कि, यो सिजन रोनाल्डो नहुँदा रियलको गत वर्ष र यो सिजनको गोल अन्तर ठीक ३१ नै छ । कस्तो संयोग !
रियलले यो सिजन सबैखाले प्रतियोगितामा गरेर कूल २० खेलमा पराजय भोग्यो । जसमा उसले लिगमा मात्रै १२ खेलमा हार भोग्यो ।
जारी सिजन तेस्रो स्थानमा रहेको रियलले कूल ६८ अंक बनायो । गत वर्ष उसले लिगमा कूल ७६ अंक जोडेको थियो । रियलले यसपटक गत वर्षभन्दा ८ अंक बढी गुमायो ।
यतिसम्म रिक, रियल गत सिजन एथ्लेटिको मड्रिडभन्दा ३ अंकले मात्रै पछि थियो भने यसपटक ८ अंकले पछि रह्यो । गत सिजन सकिँदा पनि रियल तेस्रो स्थानमै थियो भने यसपटक पनि तेस्रोमै रह्यो ।
गत सिजन रियलले क्लब विश्वकपसहित लगातार तेस्रो वर्ष युरोपियन च्याम्पियन्स लिग जितेको थियो भने यसपटक उसले क्लब विश्वकप मात्रै जित्यो । तीन प्रमुख उपाधिमा उसले कुनै उपाधि जित्न सकेन ।
प्रकाशित मिति १० जेष्ठ २०७६, शुक्रबार १५:४२