गोल्डेन बुटको छिनोफानो आज : एमबाप्पे अन्तिम खेल खेल्दै !

काठमाडौं, जेठ १०
युरोपियन गोल्डेन बुटको छिनोफानो औपचारिक रूपमै आज राति हुँदैछ । फ्रेन्च लिग वानमा आज पिएसजीले आफ्नो अन्तिम खेल खेलेसँगै यो सिजनको गोल्डेन बुट कसले जित्ने भन्ने टुंगो लाग्नेछ ।

हाल युरोपमा टप–५ लिगमा स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी र पिएसजीका फरवार्ड केलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । ला लिगाको सिजन पूरा भइसकेको अवस्थामा मेस्सी कूल ३६ गोलसहित शीर्ष स्थानमा छन् भने एमबाप्पे ३२ गोलसहित मेस्सीलाई पछ्याइरहेका छन् ।

मेस्सीको टिम बार्सिलोनाले ला लिगामा सबै खेल खेलिसक्दा पिएसजीसँग भने अझै एक खेल बाँकी छ । आज राति स्टेड रेइम्जविरुद्ध हुने अन्तिम खेल पिएसजीको अन्तिम खेल हुनेछ । यता, एमबाप्पेका लागि भने मेस्सीलाई गोल्डेन बुटमा उछिन्ने वा बराबरी गर्ने अन्तिम अवसर पनि यही खेल हुनेछ ।

एमबाप्पे हाल मेस्सीभन्दा स्पष्ट रूपमा ४ गोलले पछि रहेकाले आज रातिको खेलमा रेइम्जविरुद्ध उनले चमत्कारिक रूपमा गोल गर्न सक्नुपर्छ । उनले मेस्सीसँग गोल संख्या बराबरी गरेर गोल्डेन बुट बाँड्न ४ गोल र उछिनेर मेस्सीबाट गोल्डेन बुट खोस्न ५ गोल गर्नुपर्छ ।

सिधा हिसाबले हेर्दा एमबाप्पेका लागि आज अन्तिम खेलबाट ४ वा ५ गोल गर्नु सजिलो छैन । यदि गरे भने यो चमत्कार नै हुनेछ ।

तर, गोल मेसिन युवा खेलाडी एमबाप्पे लयमा रहे असभ्व भने छैन । उनले पछिल्ला २ खेलमा ५ गोल गरिसकेका छन् । पछिल्ला २ खेलमा ५ गोल गर्नुअघि उनी ३ खेलको प्रतिबन्धमा परेकाले उनलाई घाटा भएको हो । यदि उनी प्रतिबन्धमा थिएनन् भने सम्भवतः उनी मेस्सीभन्दा अघि पुगिसकेका हुन्थे ।

यद्यपि, ३ खेलको प्रतिबन्धपछि पनि मैदान फर्किएर उनले २ खेलबाटै ५ गोल गरेर आफू लयमा रहेको जनाउ दिएका छन् । ला लिगामा मेस्सीले अन्तिम खेलमा एइबारविरुद्ध २ मिनेटको बीचमा २ गोल गरेर एमबाप्पेसँगको गोलअन्तर बढाएका थिए । त्यसअघि उनी एमबाप्पेभन्दा मात्रै २ गोलले अघि थिए ।

यदि आज राति एमबाप्पेले ५ गोल गर्न सकेनन् भने मेस्सीले कीर्तिमानी छैटौंपटक गोल्डेन बुट जित्नेछन् । तर, यदि उनले चमत्कारिक ढंगले एकै खेलमा ५ गोल गरे उनले मेस्सीलाई पछि पार्दै २० वर्षकै उमेरमा पहिलोपटक गोल्डेन बुट जित्नेछन् । एमबाप्पेले ४ गोल गरे दुवैको कूल ३६–३६ गोल हुने हुँदा गोल्डेन बुट संयुक्त रूपमा दिइनेछ ।

पिएसजी र रेइम्जको खेल नेपाली समयअनुसार आज राति ठीक १२ः५० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति May 24, 2019
Loading...