‘बालोन डि‘ओर रोनाल्डोले जित्नुपर्छ’

एजेन्सी, जेठ १०
इंग्लिस क्लब एभर्टनका पूर्वखेलाडी अस्ट्रेलियन फुलटबर टिम कैहिलले बताएका छन् कि, सन् २०१९ को बालोन डि‘ओर इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले जित्नुपर्छ । रियल मड्रिड छाडेर इटाली पुगेपछि नयाँ लिगमा गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा रोनाल्डोले बालोन डि‘ओर अवार्ड जित्नुपर्ने कैहिलले बताए ।

‘स्पोर्टस् बाइबल’सँग कुरा गर्दै उनले २०१९ मा बार्सिलोनाका लिओनल मेस्सी दाबेदार रहे पनि रोनाल्डोले यो अवार्ड जित्दा बढी न्याय हुने बताए । ‘मेस्सी लामो समयदेखि एकै ठाउँ बसेर खेलिरहेका छन् । तर, रोनाल्डोले फरक–फरक देशबाट आफूलाई साबित गरिसकेका छन्,’ कैहिलले भने, ‘रियल छाडेर युभेन्टस पुगेपछि उनले जे–जति गरे, ३४ वर्षको उमेरमा यो कसैले गर्न सक्दैन ।’

कैहिलले आफ्नो अडानमा थुप्रै मानिस सहमत हुन नसक्ने उल्लेख गर्दै मेस्सीजत्तिकै रोनाल्डो पनि बालोन डि‘ओरको हकदार रहेको बताए । ‘मेस्सी र रोनाल्डो दुवै युरोपियन च्याम्पियन्स लिगमा असफल भए । बाँकी घरेलु लिगमा दुवैले उत्तिकै प्रदर्शन गरेका छन् । मेस्सीले ला लिगामा बढी गोल गरेका छन् तर रोनाल्डोले सिरी ‘ए’ जस्तो कठिन लिगमा गएर यत्तिको प्रदर्शन गर्नु ठूलो कुरा हो,’ कैहिलले भने, ‘रोनाल्डोले करिअरमा तेस्रो फरक देशबाट लिग जितेका छन्, यो ठूलो कुरो हो ।’

कैहिलले बताएका छन् कि, हालसम्मको प्रदर्शनमा औसतमा रोनाल्डो र मेस्सी बालोन डि‘ओरका लागि समान दाबेदार रहेकाले अब अन्तर्राष्ट्रिय प्रतियोगिताबाट यसको छिनोफानो हुनछ । ‘छिट्टै रोनाल्डो र मेस्सीले अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेल्दैछन्, यसमा कुन खेलाडी सफल हुन्छन् भन्ने कुराले बालोन डि‘ओरमा दाबेदारीमा निर्भर गर्छ ।’

कैहिलले अघि थपे, ‘फेरि यहाँसम्मको प्रदर्शन नै अन्तिम होइन । २०१९ को डिसेम्बरसम्मको प्रदर्शन पनि बालोन डि‘ओरका लागि मानक हुन्छ । त्यसैले नयाँ सिजनको आधा प्रदर्शन पनि पर्खिनुपर्छ ।’

प्रकाशित मिति १० जेष्ठ २०७६, शुक्रबार १२:५७
Loading...