‘बार्सिलोना पूर्ण रूपमा मेस्सीमा निर्भर छ’

एजेन्सी, जेठ ९
स्पेनिस बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका स्पेनिस म्यानेजर जुआन एन्टोनियो पिज्जीले यो बताएका छन् कि, बार्सिलोना पूर्ण रूपमा लिओनल मेस्सीमाथि निर्भर छ । विगतमा बार्सिलोनाबाट फरवार्डका रूपमा खेलेका उनले बार्सिलोना र भ्यालेन्सिया कोपा डेल रे फुटबलको फाइनल खेल्नुअघि स्पेनिस ‘मार्सा’सँग कुरा गर्दै यस्तो बताएका हुन् ।

विगतमा चिलीको प्रमुख प्रशिक्षक भएर काम गरिसकेका उनले मेस्सीको तारिफ गर्दै उनीबिना बार्सिलोनालाई उपाधि छाडी खेल जित्नै कठिन हुने बताए । ‘यो सबैलाई थाहा छ, मेस्सी बार्सिलोनाका प्रमुख खेलाडी हुन् । तर, म त भन्छु, मेस्सी पूर्ण रूपमा बर्सिलोना मेस्सीमाथि निर्भर छ,’ पिज्जीले भने, ‘मेस्सीबिना बार्सिलोनालाई उपाधि त परकै कुरा, लगातार तीन खेल जित्न पनि कठिन हुन्छ ।’

पिज्जीले यो बताएका छन् कि, बार्सिलोनाले बिस्तारै मेससीमाथिको निर्भरता कम गर्दै लैजानुपर्छ । ‘मेस्सी चाँडै ३२ वर्षका हुँदैछन् । उनले अब उही गतिले खेल्न सक्दैनन् । बार्सिलोनाले उनीमाथिको निर्भरता कम गर्नेबारे सोच्न ढिला गर्नु हुँदैन ।’

पिज्जीले शनिबार हुने कोपा डेल रे फुटबलमा उपाधि जसले पनि जित्न सक्ने बताए । ‘अहिलेको अवस्थामा दुवै टिम एक अवस्थामा देख्छु । बार्सिलोना उत्कृष्ट अवस्थामा छैन,’ उनले भने, ‘यो उपाधि जित्ने दुवै टिमको बराबर सम्भावना देख्छु ।’

पिज्जीले बार्सिलोनामा चिलियन खेलाडी अर्टुरो भिडालले अझै राम्रो खेल्न सक्ने पनि बताए । विगतमा चिलीको प्रशिक्षक रहँदा राष्ट्रिय टिममा भिडालसँगै काम गरेका उनले बार्सिलोनामा भिडालले छाप छाड्दै गएको बताए ।

‘उनी एक जब्बर खेलाडी हुन् । उनी ठूला खेलका लागि महत्त्वपूर्ण हुन्छन् । उनले स्पेनमा राम्रो गरिरहेका छन् । उनले अझै राम्रो गर्न सक्छन्,’ पिज्जीले भने ।

प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार १६:०१
Loading...