‘ग्वार्डिओला युभेन्टस जाने’ विषयमा सिटीले मुख खोल्यो !

एजेन्सी, जेठ ९
दुई दिनअघि इटालीबाट इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला नयाँ सिजनबाट युभेन्टसको प्रशिक्षक बन्ने खबर सनसनीपूर्ण रूपमा आए । केही ठूला मिडियाले ग्वार्डिओला र युभेन्टसका निर्देशकले मिलानस्थित एक होटेलमा बैठक गरेर ४ वर्षका लागि डिल फाइनल गरेको भन्दै बैठक बसेको होटेलका तसिबरसमेत छापे । केहीले त युभेन्टसले ग्वार्डिओलाई आफ्नो प्रशिक्षक घोषणा गर्ने मितिसमेत तोके ।

तर, यस्तो रिपोर्ट बाहिरिएको २ दिनपछि क्लब सिटीले यसबारे मुख खोलेको छ । सिटीले यस्तो चर्चा र समाचारको खण्डन गर्दै त्यस्ता समाचारलाई ‘हावादारी’ भनेको छ ।

‘पेप हाम्रा प्रशिक्षक हुन् । ग्वार्डिओला युभेन्टस जाने कुरा एकदमै हावादारी हो । उनी क्लब छाड्न चाहँदैनन्,’ सिटीका बोर्ड सदस्य अबलेर्टो ग्लास्सीले भने ।

उनले सिटी युभेन्टस जाने भन्ने खबरबाट आफूहरू चकित परेको पनि बताए । ‘बोर्ड सदस्यका हिसाबले यो सुन्दा निकै चकित परें । यस्तो समाचारमा कुनै सत्याता छैन,’ ग्लास्सीले भने, ‘उनी यहाँ खुसी छन् । र, उनीसँग अझै २ वर्षको सम्झौता छ ।’

‘युभेन्टसले हाम्रा प्रशिक्षक लैजान्छ भने उसले पहिला हामीलाई सम्पर्क गर्छ । मलाई लाग्छ, यो सम्भावना छैन,’ ग्लासस्सीले भने ।

यो सिजन सिटीलाई तीन घरेलु उपाधि जिताएका ग्वार्डिओललाई युभेन्टसले मासिमिलानो एलेग्रीको स्थानमा लैजान चाहेको चर्चा यसअघि थियो । एलेग्रीले यो सिजनको अन्त्यसँग क्लब छाड्ने पक्का भइसकेको छ ।

प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार १५:०६
Loading...