सन्दीपको छलाङ : क्यारेवियन लिगमा ७८ लाखमा अनुबन्ध !

काठमाडौं, जेठ ९
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने करिअरको सबैभन्दा ठूलो बजेटमा अनुबन्ध भएका छन् । उनलाई क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइटन्सले नेपाली रुपैयाँ ७८ लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

बुधबार ड्राफ्टमा उनलाई क्लबले ७० हजार डलरको बोली लगाएको हो । यो सन्दीपको आफ्नो करिअरको सबैभन्दा ठूलो अनुबन्ध बजेट हो ।

गएको सिजन सन्दीपले सोही लिगमा सेन्ट किट्स एन्ड नभिस पेट्रियर्सबाट खेलेका थिए । त्यसबेला ५ खेल खेलेका उनले ७ विकेट लिएका थिए । तर, सो बेला उनको मूल्य निकै कम ५ हजार डलर मात्रै थियो ।

तर, यसपटक उनको मूल्य ह्वात्तै बढेको हो । दोस्रो सिजन उनको मूल्य ५ हजार डलरबाट बढेर ७० हजार डलरमा पुगेको हो ।

सन्दीप केही समयअघि मात्रै इन्डियन प्रिमियर लिग खेलेर नेपाल फर्किएका हुन् । सो प्रतियोगितामा उनले दिल्ली क्यापिटल्सबाट दोस्रो सिजन खेलेका हुन् ।

प्रकाशित मिति May 23, 2019
Loading...