बार्सिलोनामा अर्को नयाँ मोेड !

एजेन्सी, जेठ ८
लगातार चौथो वर्ष युरोपियन च्याम्पियन्स लिगबाट आउट भएपछि बार्सिलोनामा अहिले ठूलो हलचल छ । जसको असर बार्सिलोनाको खेलाडीको टिमदेखि लिएर प्रशिक्षकसमेतमा छ । क्लब नयाँ योजना र तयारीमा जुटेको छ ।

च्याम्पियन्स लिगको अन्तिम चारमा इंग्लिस टिम लिभरपुलसँग लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट आउट भएपछि बार्सिलोनाका खेलाडी र प्रशिक्षकको चर्को आलोचना भयो । भलै, बार्सिलोना ला लिगाको च्याम्पियन बन्यो भने उसले यसै साता कोपा डेल रे फुटबलको फाइनल भ्यालेन्सियासँग खेल्दैछ ।

यदि सो प्रतियोगिता जिते बार्सिलोनाले यो सिजन दुई घरेलु उपाधि जित्नेछ । पराजित भए उसले सिंगल उपाधिमै सिजन चित्त बुझाउनेछ ।

सो प्रतियोगिताअघि बार्सिलोनामा नयाँ मोड देखिएको छ । टिमका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले क्बल छाड्ने मनस्थिति बनाएको रिपोर्ट स्पेनिस मिडियाले प्रकाशित गरेका छन् । टिम च्याम्पियन्स लिगबाट आउट भएपछि भाल्भर्डेलेमाथि चर्को दबाब छ ।

भलै, अघिल्लो साता उनले एक पत्रकार सम्मेलनमा बोल्दै आफू बार्सिलोनामा अर्को सिजन पनि रहने बताएका थिए । आफूलाई क्लबले साथ दिने भन्दै उनले यस्तो बताएका थिए ।

त्यसको केही दिनपछि क्लबका अध्यक्ष जोसेप मारिया बोर्टोमेउले ‘भाल्भर्डे बार्सिलोनाले चाहेका प्रशिक्षक’ भन्दै भाल्भर्डेको विकल्प क्लबले नखोज्ने बताएका थिए ।

तर, पछिल्ला घटनाक्रमबाट भाल्भर्डेको मनस्थितिमा परितवर्न आएको छ । बार्सिलोनामा दोस्रो सिजन बिताइरहेका उनकै नेतृत्वमा गत सिजन बार्सिलोना इटालियन रोमासँग पराजित हुँदै च्याम्पियन्स लिगबाट आउट भएको थियो ।

लगातार दोस्रो वर्ष पनि भाल्भर्डेले बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन नसक्दा फ्यानहरूको ठूलो हिस्सा उनको बिदाइको पक्षमा देखिएका छन् । यो कुरा भाल्भर्डेलेलाई राम्रोसँग थाहा छ ।

मुख्य कुरा, भाल्भर्डेलाई यो पनि थाहा छ कि– यदि बार्सिलोना कोपाको फाइनलमा भ्यालेन्सियासँग पराजित भए उनलाई क्लबले बर्खास्त गर्न सक्छ । यदि नगरे पनि नयाँ सिजनमा उनीमाथि चर्को दबाब हुनेछ । कोपा जिते पनि उनीमाथि दबाब रहने नै छ ।

अर्को सिजनका लागि रियल मड्रिडले ठूलो तयारी गर्दैछ । यो कुरा भाल्भर्डेले बुझेका छन् । नयाँ सिजनका लागि रियलले मोटो बजेट खर्चेर स्टार खेलाडी अनुबन्ध गर्दैछ । यसको अर्थ अर्को सिजन स्पेनभित्रै बार्सिलोना र रियलबीच चर्को प्रतिस्पर्धा रहनेछ ।

बार्सिलोना लगातार चौथो वर्ष च्याम्पियन्स लिगबाट आउट भएपछि पाँचौं सिजनमा भाल्भर्डेलाई बार्सिलोनालाई युरोपियन च्याम्पियन बनाउने दबाब थेग्न सहज हुनेछैन । यी सबै कुरा बुझेका भाल्भर्डेले अर्को सिजन आफ्ना लागि झन् दबाबमूलक र कठिन हुने राम्रोसँग बुझेका छन् ।

यस्तो अवस्थाबीच भाल्भर्डे बार्सिलोनाको जिम्मेवारीबाट हट्ने सम्भावना बढेको र उनी सोही मोडमा पुगेको मिडिया रिपोर्टमा उल्लेख । बार्सिलोनाले कोपा डेल रे जिते उनलाई केही राहत हुनेछ । तर, पराजित भए उनीमाथि क्लबले तुरुन्तै कदम चाल्न सक्छ । यी सबै दृश्यले बार्सिलोनामा भाल्भर्डेको भविष्य सुरक्षित देखाउँदैन ।

प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १५:३४
Loading...