च्याम्पियन्स लिगकी ‘ह्याट्रिक हिरोइन’लाई ‘बिबिसी फुटबलर अफ् द इयर’ को अवार्ड !

एजेन्सी, जेठ ८
फ्रेन्च क्लब लियोनकी स्टार स्ट्राइकर एडा हेगरवर्गले ‘बिबिसी महिला फुटबलर अफ् द इयर’को अवार्ड जितेकी छन् । एडा उनै खेलाडी हुन्, जसले गत साता महिला युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाविरुद्ध लियोनलाई शानदार जितका साथ उपाधि जिताउँदा सनसनीपूर्ण ह्याट्रिक गरेकी थिइन् ।

लियोनले बार्सिलोनाको महिला टिमलाई ४–१ को लज्जास्पद हार चखाउँदै उपाधि जितेको थियो । सो प्रतियोगिताको ४ दिनपछि यो पुरस्कारका लागि विश्वभरका समर्थकका लागि भोटिङ खुला गरिएको थियो ।

सो भोटिङमा एडाले बाजी मारेकी हुन् । प्रतिष्ठित अवार्ड जितेपछि एडाले खुसी व्यक्त गर्दै आफ्ना समर्थकहरूलाई धन्यवाद दिएकी छन् ।

सार्वजनिक भोटिङ परिणामअनुसार डेनमार्क र वोल्फ्वर्गकी स्ट्राइकर पर्नेल हार्डर दोस्रो बन्दा अस्ट्रेलिया तथा सिकागो रेड स्टार्ससकी सेम केर तेस्रो बनिन् ।

‘बिबिसी वल्र्ड सर्भिस अवार्ड’का लागि ५ खेलाडी छानिएका थिए । जसमा जापान तथा लियोनकी डिफेन्सिभ मिडफिल्डर साकी कुमागाई र पोर्टल्यान्ड थन्स अमेरिकाकी मिडफिल्डर लिन्डेस होरान उपाधि होडमा चौथो र पाँचौं बने ।

नर्वेकी २३ वर्षीया एडाले सन् २०१७ मा पनि यो अवार्ड जितेकी थिइन् । उनले २०१८ मा महिला फुटबलतर्फ बालोन डि‘ओर जितेकी थिइन् । सो वर्ष पहिलोपटक महिला फुटबलरलाई पनि बालोन डि‘ओर प्रदान गरिएको थियो ।

प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १३:५७
Loading...