no-image

एजेन्सी, जेठ ८
अर्को महिनाबाट सुरु हुने कोपा अमेरिका फुटबलका लागि सार्वजनिक टोलीमा केही स्टार खेलाडी नपरेपछि आलोचित बनेका अर्जेन्टिनी प्रशिक्षक लिओनल स्कालोनीले आफ्नो बचाउ गरेका छन् । उनले आफ्नो टिममा सबै एकसे एक खेलाडी भएको उल्लेख गर्दै सबै टिमा पर्न नसक्ने बताए ।

अघिल्लो दिन स्कालोनीले कोपाका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए । लिओनल मेस्सीको कप्तानीमा टोली घोषणा गर्दा पहिलो रोजाइका गोलकिपर रोमेरो टोलीमा परेनन् भने स्टार फरवार्ड माउरो इकार्डी पनि टोलीमा परेनन् । त्यस्तै, एन्जल कोरेरा पनि टिममा स्थान बनाउन असफल भए ।

अर्जेन्टिनाका लागि भरपर्दा र अनुभवी मानिएका गोलरक्षक रोमेरो चोटका कारण पूर्ण रूपमा फिट नहुँदा टोलीमा नपरेको स्कालोनीले बताएका छन् । त्यसैगरी, इकार्डीको सबालमा भने उपलब्ध अन्य खेलाडीलाई मिलाउँदा उनी टिमबाहिर रहेको बताए ।

‘हामीसँग सबै उत्कृष्ट खेलाडी छन् । आवश्यकताअनुसार टिम बनाउँदा कोही नपर्न सक्छन्,’ स्कालोनीले भने, ‘हामीलाई विश्वास छ, यो टिम उत्कृष्ट बनेको छ ।’

उनले गोलकिपर रोमेरो पूर्ण रूपमा फिट नभएकाले टोलीमा नरहेको बताए । ‘गोलकिपरसहित केही खेलाडी फिट नभएकाले टोलीबाहिर रहेका हुन्,’ उनले भने ।

स्कालोनीले टिम छनौट गर्नु ज्यादै कठिन कार्य भएको बताए । ‘हामी आफ्नो काम गर्छौं । तर, टिम छनौट गर्नु ज्यादै कठिन कार्य हो,’ उनले भने ।

अर्जेन्टिना समूह ‘बी’ मा परेको छ । सो समूहमा पाराग्वे, कोलम्बिया र आगन्तुक टिम कतार छन् । स्कालोनीले आफ्नो समूह प्रतियोगिताकै सबैभन्दा कठिन समूहमा रहेको बताए ।

‘पाराग्वे निकै बलियो टिम हो । कोलम्बिया सधैं राम्रो प्रदर्शन गर्छ । कतारले एसिया कप जितेर आफूलाई प्रमाणित गरिसकेको छ,’ स्कालोनीले भने, ‘मलाई लाग्छ, हामी डेथ अफ् ग्रुपमा छौं ।’

कोपा अमेरिका जुन १४ बाट ब्राजिलका विभिन्न सहरमा आयोजना हुँदैछ । अर्जेन्टिना यसपटक ७ संस्करणपछि यो प्रतियोगिता जित्ने दौडमा छ । उसले अन्तिमपटक कोपा सन् १९९३ मा जितेको थियो ।

कोपा अमेरिका पछिल्ला दुई संस्करण लगातार चिलीले जितेको थियो । सन् २०१६ मा उसले अर्जेन्टिनालाई फाइनलमा हराएर उपाधि जितेको थियो ।

प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १२:१७
Loading...