कोपा अमेरिकाबारे पूर्वविश्वकपविजेताको यस्तो भविष्यवाणी !

एजेन्सी, जेठ ८
अर्जेन्टिनाका लिजेन्ड फुटबलर तथा पूर्वप्रशिक्षक केसार लुइस मेनोट्टीले यसवर्ष हुन लागेको कोपा अमेरिका फुटबलको दाबेदार टिमबारे धारणा राखेका छन् । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका मेनोट्टीले दक्षिण अमेरिका क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगिता आउन करिब तीन साता बाँकी छँदा उपाधि कसले जित्न सक्छ भन्नेबारे मत राखेका हुन् ।

विगतमा बार्सिलोना र अर्जेन्टिनी टोलीलाई समेत प्रशिक्षण दिएका मेनोट्टीले यसपटक थुप्रै टिम उपाधि दाबेदार रहेको बताए । यसपटक प्रतियोगितामा सधैंका दाबेदार टिमसहित पाहुना टोलीका रूपमा दक्षिण एसियाली फुटबलको पावर हाउस भनिने जापानसमेत प्रतिस्पर्धा गर्दैछ ।

‘यसपटक थुप्रै टोली उपाधि दौडमा छन् । ब्राजिल, अर्जेन्टिना, उरुग्वे यसपटक राम्रो अवस्थामा छन्,’ मेनोट्टीले भने, ‘लगातार दुईपटक उपाधि जितेको चिली पनि तेस्रोपटक उपाधि जित्न चाहन्छ ।’

तर, स्टार खेलाडी र टिमका हिसाबले यसपटक ब्राजिल र अर्जेन्टिना मुख्य रूपमा उपाधि दौडमा रहने उनले बताए । ‘मेरो हिसाबमा यसपटक ब्राजिल सबैभन्दा बलियो अवस्थामा छ । किनभने, उनीहरूसँग हरेक पोजिसनका लागि एकसेएक खेलाडी छन्,’ मेनोट्टीले भने, ‘तर, अर्जेन्टिना सीमित खेलाडीमा निर्भर छ ।’

मेनोट्टीले आफूले यसपटक अर्जेन्टिनाले उपाधि जितेको आफूले हेर्न चाहेको बताए । ‘यसपटक मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताउन् भन्ने मेरो इच्छा छ,’ उनले भने, ‘किनभने, यसपटक पनि उनी सफल भएनन् भने फेरि कहिल्यै हुँदैनन् ।’

मेनोट्टीले यसपटक कोपा अमेरिका जापानले जिते अचम्म नहुने बताए । ‘जापान पनि यो प्रतियोगिता खेल्दैछ । उनीहरू निकै बलिया टिम हुन्,’ मेनोट्टीले भने, ‘उनीहरूले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् ।’

कोपा अमेरिका पछिल्ला दुई वर्ष लगातार चिलीले जितेको छ । चिली यसपटक पनि कोपा जितेर ह्याट्रिक गर्ने दाउमा छ भने अर्जेन्टिना आठ संस्करणपछि यो प्रतियोगिता जित्ने दौडमा छ । अघिल्लो संस्करणमा फाइनल हारेको अर्जेन्टिनाले पछिल्लोपटक यो प्रतियोगिता सन् १९९३ मा जितेको थियो ।

यता, यसपटक प्रमुख दाबेदार मानिएको टिम ब्राजिलले सन् २००४ र २००७ मा लगातार यो प्रतियोगिता जितेको थियो । २०११ मा उरुग्वे च्याम्पियन बनेको थियो ।

यसपटकको प्रतियोगिता जुन १४ बाट ब्राजिलका विभिन्न सहरमा आयोजना हुँदैछ । प्रतियोगितामा कूल १२ देश खेल्दैछन् ।

प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार ०६:०४
Loading...