के लिभरपुलले कोउटिन्होलाई फिर्ता लैजाँदैछ ?

एजेन्सी, जेठ ७
अघिल्लो जनवरी सिजनमा महँगो मूल्यमा इंग्लिस टिम लिभरपुल छाडेर स्पेनिस बार्सिलोनामा अनुबन्ध भएका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्हो अहिले स्पेनमा खराब समयसँग जुधिरहेका छन् । डेब्यु सिजन राम्रो गरे पनि यो सिजन समग्रमा खराब रह्यो ।

जसका कारण कोउटिन्होको आलोचना बढेको छ भने क्लब बार्सिलोना पनि इतिहासकै सर्वाधिक महँगा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छैन । अलिहे बार्सिलोनाले यो समरमा कोउटिन्होलाई बेच्ने तयारी गरेको चर्चा छ ।

बार्सिलोनाले कोउटिन्होलाई लामो रस्साकस्सीपछि १४२ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । तर, बार्सिलोना अहिले कोउटिन्होको खराब प्रदर्शनकै कारण मूल्य घटेर भए पनि बेच्न तयार भएको चर्चा छ ।

यसैबेला लिभरपुलका लिजेन्ड जिमी कार्घरले लिभरपुललाई कोउटिन्हो फिर्ता गराउन सुझाव दिएका छन् । लिभरपुलले बार्सिलोनाको ‘नर्क’बाट आफ्ना पूर्वखेलाडी भित्र्याउँदा राम्रो हुने बताएका छन् ।

‘यदि म जोर्गेन क्लोप थिएँ भने समरमा उनलाई फर्काउन सक्रियतासाथ लाग्ने थिएँ । तर, लिभरपुलले के सोच्दैछ मलाई थाहा छैन,’ जिमीले भने, ‘यसबारे सोच्नुपर्छ । क्लबले आफ्ना पूर्वस्टारलाई बार्सिलोनाको नर्कजस्तै समयबाट उद्धार गर्न सक्छ ।’

तर, जिमीले बार्सिलोनाले कोउटिन्हेका लागि सही मूल्य तोक्नुपर्ने बताए । ‘कोउटिन्हो फिर्ता हुने अवस्था आए त्यहाँ रकमको कुरा बाधक बन्नसक्छ । मेरो हिसाबमा बार्सिलोनाले कोउटिन्हका लागि सही मूल्य कायम गर्नुपर्छ,’ उनले भने, ‘मलाई लाग्छ, बार्सिलोना आफ्ना असफल खेलाडीको मूल्य कटौती गर्न तयार हुनेछ । त्यसो भए लिभरपुल तयार हुनसक्छ ।’

जिमीले यो बताएका छन् कि, बार्सिलोनामा कोउटिन्होले स्तरअनुसार प्रदर्शन गर्न नसक्नुमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डे दोषी छन् । ‘भाल्भर्डेले उनलाई विभिन्न तरिकाले प्रयोग गर्न खोजे । त्यसमा कोउटिन्हो फिट भएनन् । उनलाई आफ्नो पोजिसन र शैलीमा खेल्न दिनुपर्ने थियो,’ जिमीले भने ।

जिमीले कोउटिन्होका लागि लिभरपुल नै सही क्लब भएको बताए । ‘एनफिल्डमा उनी अर्कै स्तरमा थिए । उनका लागि क्लोप नै सही म्यानेजर हुन् । किनभने, कोउटिन्होजस्ता खेलाडीलाई क्लोपले मात्रै व्यवस्थापन गर्न सक्छन् ।’

जिमीले भने कोउटिन्हो इंग्ल्यान्ड फर्किंदा फ्यानहरू खुसी हुने पनि बताए । ‘कोउटिन्हो फर्किन तयार छन् कि छैनन्, थाहा छैन । तर, उनी फर्किंदा लिभरपुलका समर्थक खुसी हुनेछन्,’ उनले थपे ।

कोउटिन्हो हाल चोटसँग जुधिरहेका छन् । उनले ४ दिनपछि कोपा डेल रे फुटबलको फाइनलसमेत गुमाउने सम्भावना छ । उनले यो सिजन बार्सिलोनाका लागि कूल ५२ खेल खेल्दै ११ गोल गरेका छन् भने २ गोलका लागि असिस्ट गरेका छन् ।

प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार १३:४०
Loading...