रियल मड्रिडविरुद्ध बार्सिलोनाले बनायो ‘ऐतिहासिक’ रेकर्ड !

एजेन्सी, जेठ ७
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाो आफ्नो खास प्रतिस्पर्धी क्लब रियल मड्रिडविरुद्ध ऐतिहासिक रेकर्ड बनाएको छ । सिजन २०१८÷१९ सकिँदा बार्सिलोनाले रियलविरुद्ध इतिहासकै सर्वाधिक ठूलो अंक दूरीसहित सिजन पूरा गरेको हो ।

जारी सिजन सकिँदा बार्सिलोना ३८ खेलबाट कूल ८७ अंकसहित च्याम्पियन बन्यो । यता, रियल भने समान खेलबाट ६८ अंक मात्रै बनाएर तेस्रो स्थानमा रह्यो । बार्सिलोनाले रियललाई तेस्रो स्थानमा १९ अंकले पछि पार्दै सिजन पूरा गर्न सफल भयो । यतिसम्म कि, रियल दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा पनि ८ अंकले पछि रह्यो ।

यी दुई क्लबको इतिहासमा बार्सिलोनाले आफ्नो कट्टर प्रतिस्पर्धी रियलसँग सबैभन्दा ठूलो १९ अंकको दूरी राख्दै सिजन पूरा गर्यो । यसअघि कुनै पनि सिजन सकिँदा बार्सिलोना र रियलबीच यति ठूलो अन्तर थिएन ।

सिजन २०१७÷१८ सकिँदा बार्सिलोनाले रियललाई १७ अंकले पछि पार्दै सिजन पूरा गरेको थियो । तर, यसपटक गत सिजनको भन्दा पनि २ अंकले पछि पार्दै सिजन पूरा गरेको हो ।

सर्वाधिक धेरै ३३ पटक ला लिगा जितेको रियलले २६ पटक ला लिगा जितेको बार्सिलोनासँग लिगको इतिहासमै सबैभन्दा ठूलो अंकले पछि परेको यही सिजन हो ।

पछिल्लोपटक रियल आफ्नो अन्तिम खेलमा आफ्नै घरमा रियल बेटिससँग ०–२ ले पराजित भएको थियो, जुन रियलको यो सिजन सबैखाले प्रतियोगिताबाट २०औं हार थियो भने लिगको १२औं हार ।

त्यसपछि बािर्सलोनाले आफ्नो खेलमा अवे मैदानमा एइबारसँग २–२ को बराबरीमा रोकियो । यदि सो खेल बार्सिलोनाले जितेको भए बार्सिलोनाले रियलसँग २१ अंकको दूरी बनाउने थियो ।

जारी सिजन रियलले ला लिगामा १२ खेल हारेको छ । उसले ५ खेल बराबरी गर्दा २१ खेल मात्रै जितेको छ । यता, बार्सिलोनाले भने कूल २६ खेल जितेर ९ खेल बराबरी गर्दा ३ खेल मात्रै हारेको छ । यो सिजन ला लिगामा रियलले बार्सिलोना भन्दा ९ खेल बढी हारेको हो ।

पछिल्लो दशक ला लिगामा बार्सिलोना हाबी देखिन्छ । पछिल्ला ११ वर्षमा बार्सिलोनाले ८ पटक लिग जित्दा रियलले २ तथा १ पटक एथ्लेटिको मड्रिडले जितेको छ ।

प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार ११:२५
Loading...