बालोन डि‘ओर अवार्ड : यी हुन् प्रमुख दाबेदार चार खेलाडी

एजेन्सी, जेठ ७
जारी सिजन सकिँदै गर्दा सन् २०१९ को बालोन डि‘ओर अवार्ड कसले जित्ला भन्ने अड्कलबाजी सुरु भइसकेको छ । यो अवार्ड वर्षभरिको खेलाडीको व्यक्तिगत प्रदर्शनलाई हेरेर दिइने अवार्ड हो ।

तसर्थ, यो सिजन सकिन लागे पनि यहाँसम्मको प्रदर्शनले मात्रै अवार्ड जित्न पुग्दैन । किनभने, २०१९ सकिन अझै आधा समय बाँकी छ । तसर्थ, आगामी डिसेम्बर महिनासम्मको प्रदर्शनलाई हेरेर यो अवार्डको टुंगो लाग्नेछ ।

यसको अर्थ सिजन २०१९/२० को आधा सिजनसम्मको प्रदर्शन पनि बालोन डि‘ओर अवार्डका लागि मानक बन्छ । यो सिजन उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले अर्को सिजनको करिब आधा सिजनसम्म कस्तो प्रदर्शन गर्छन् भन्ने कुराले अवार्डमा दाबेदारीमा निर्भर गर्छ ।

त्यसैले अहिले नै बालोन डि‘ओर अवार्डको विषयमा भविष्यवाणी गर्नु हतारो हुन्छ । तर, यो सिजनको प्रदर्शनले बालोन डि‘ओर अवार्डका दाबेदारका अनुहार भने अगाडि देखाएको छ ।

यहाँ खेलाडीको प्रदर्शन तथा विभिन्न तथ्यांकका आधारमा हालसम्मको प्रदर्शनलाई हेरेर बालोन डि‘ओर अवार्डका प्रमुख चार दाबेदार खेलाडीबारे चर्चा गरिएको छ

दाबेदार–१ : लिओनल मेस्सी

स्पेनिस बार्सिलोनाका फरवार्ड मेस्सी २०१९ को बालोन डि‘ओर अवार्डका लागि सबैभन्दा अगाडि छन् । व्यक्तिगत प्रदर्शनका हिसाबले उनी यतिबेला सबैभन्दा बलियो दाबेदार बनेका हुन् । मेस्सीले यो सिजन सबैखाले प्रतियोगिताबाट कूल ४८ खेल खेल्दै ५० गोल गरेका छन् ।

मेस्सी यतिबेला युरोपमा टप–५ लिगमा सर्वाधिक ३६ गोलसहित गोल्डेन बुटको दौडमा पनि छन् । उनले लिगमा कूल १३ गोलका लागि असिस्ट पनि गरेका छन् । जारी सिजन उनले सबैखाले प्रतियोगिताबाट ५० गोल गर्दै १९ गोलका लागि असिस्ट गरेका छन् ।

मेस्सी यो सिजन युरोपमा टप–५ लिगमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी र सर्वाधिक धेरै फ्रि किक गोल गर्ने खेलाडी पनि हुन् । यी नै तथ्यांकले मेस्सीलाई २०१९ को आधा समय सकिँदासम्म बालोन डि‘ओरको प्रमुख दाबेदार बनाएको छ ।

मेस्सीको टिम बार्सिलोना च्याम्पियन्स लिगबाट आउट भएपछि मेस्सीको दाबेदारीमा क्षति पुगेको छ । तर, उनले अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकामा अर्जेन्टिनालाई उपाधि जिताउन सके भने उनले बालोन डि‘ओर जित्ने करिब पक्का हुनेछ ।

दाबेदार–२ : भर्जिल भान डाइक

इंग्लिस टिम लिभरपुलका डच डिफेन्डर भान डाइक मेस्सीपछि दोस्रो प्रमुख दोबदार हुन् । जारी सिजन लिभरपुललाई युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्म लैजान र घरेलु लिग प्रिमियर लिगमा टिमलाई दोस्रो बनाउन उनले महत्त्वपूर्ण योगदान दिएका छन् ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई ४–० ले हराउँदा भान डाइकले रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी यो सिजनका प्रिमियर लिगको उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

यो सिजन भान डाइकले ४९ खेल खेल्दै ६ गोल गरेका छन् भने २ गोलका लागि असिस्ट गरेका छन् । उनले नेदरल्यान्ड्सलाई युइएफए नेसन्स लिगको फाइनलसम्म लैजान पनि महत्त्वपूर्ण योगदान दिएका छन् ।

यदि अब लिभरपुलले च्यामिपयन्स लिग जितेको खण्डमा भान डाइक बालोन डि‘ओरका लागि बलियो दाबेदार बन्नेछन् । यदि नेदरल्यान्ड्ससाई नेसन्स लिगको उपाधि जिताउन पनि उनले योगदान दिए र उता बार्सिलोनाका मेस्सी अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन असफल भए पनि त्यो बेला भान डाइक मेस्सीभन्दा बलिया दाबेदार हुने पक्का छ ।

दाबेदार–३ : मोहमद सालाह

लिभरपुलका इजिप्टिएन फरवार्ड मोहद सालाह पनि २०१९ को बालोन डि‘ओर अवार्डको दौडमा छन् । यो सिजन उच्च लयमा नरहे पनि उनले लिभरपुललाई घरेलु लिग र च्याम्पियन्स लिगमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

सालाहले यो सिजन लिभरपुलका लागि कूल ४९ खेल खेल्दै २६ गोल गरेका छन् भने १० गोलका लागि असिस्टसमेत गरेका छन् ।

सालाहले अब लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा उपाधि जिताउन विशेष योगदान दिए भने बालोन डि‘ओरमा उनको पनि दाबेदारी बढ्नेछ । यसबाहेक इजिप्टले समरमा अफ्रिकन कप खेल्दैछ । त्यहाँ उनले राष्ट्रिय टिमलाई खास योगदान दिन सके भने उनी पनि बालोन डि‘ओरको बलियो दाबेदार बन्नेछन् ।

दाबेदार–४ : साडियो माने

सेनेगल तथा लिभरपुलकै फरवार्ड साडियो माने पनि २०१९ को बालोन डि‘ओर अवार्डको दाबेदार हुन् । यो सिजन लिभरपुलका लागि शानदार प्रदर्शन गरेका उनी प्रिमियर लिगमा २२ गोलसहित सार्वधिक गोलकर्ता बनेर गोल्डेन बुटसमेत जितेका थिए । उनले आर्सनलका अउबामेयाङ र लिभरपुलकै मोहद सालाहसँग समान २२–२२ गोलसहित गोल्डेन बुट बाँडेका थिए ।

जारी सिजन उनले लिभरपुलका लागि कूल ४९ खेल खेल्दै २६ गोल गरेका छन् भने २ गोलका लागि असिसट गरेका छन् ।

यदि लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन फाइनलमा योगदान दिएको खण्डमा माने पनि बालोन डि‘ओरको दाबेदार बन्नेछन् । उता, उनले आगामी समरमा राष्ट्रिय मिटबाट अफ्रिकन कप पनि खेल्दैछन् !

प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार ०७:१५
Loading...