कोपाको फाइनल खेलका लागि के–के छन् भाल्भर्डेका योजना ?

एजेन्सी, जेठ ७
आगामी शनिबार राति बार्सिलोनाले सिजनको दोस्रो घरेलु प्रतियोगितामा कोपा डेल रे कपको उपाधिका लागि भ्यालेन्सियासँग खेल्दैछ । बार्सिलोना सो खेल जितेर यो सिजन दोस्रो घरेलु उपाधि सुरक्षित गर्न चाहन्छ ।

बार्सिलोना यसअघि ला लिगाको च्याम्पियन बनिसकेको छ भने युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस टिमसँग ४–० (सग्रमा ४–३) ले पराजित हुँदै सेमिफाइनलबाट आउट भएको थियो ।

च्याम्पियन्स लिगबाट आउट भएपछि बार्सिलोना दबाबमा छ । उसको आलोचना बढेको छ । र, खेलाडी पनि चर्को दबाबमा छन् । ऊमाथि कोपा हरहालतमा जित्नैपर्ने दबाब छ ।

तर, बार्सिलोना यतिबेला आफ्ना खेलाडीको चोटले समस्यामा छ । फरवार्ड लुइस स्वारेज, मिडफिल्डर अर्थुर मेलो, फिलिपे कोउटिन्हो, उसामान डेम्बेलेलगायत खेलाडीले कोपाको फाइनल खेल्नेमा आशंका छ । त्यसैगरी, पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन पनि सो खेलका लागि फिट हुनेमा आशंका छ ।

यस्तो अवस्थाबीच बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भ्र्डेले भने आफूले कपको फाइनल खेलका लागि ठन्डा दिमागले योजना बनाउने बताएका छन् । पछिल्लोपटक ला लिगाको अन्तिम खेलपछि मिडियासँग बोल्दै उनले अब आफूहरूको ध्यान कोपाको उपाधिमा केन्द्रित हुने बताए ।

‘अब हामीसँग मात्रै एक खेल छ, कोपाको फइनल । हाम्रो सबै ध्यान यसमै केन्द्रित हुनेछ,’ उनले भने, ‘मसँग केही समय बाँकी छ । यसबारे ठन्डा दिमागले तयारी गरिनेछ ।’

भाल्भर्डेले आफ्नो टिम अझै पनि च्याम्पियन्स लिगको पराजयको पीडामा रहेकाले खेलाडीको मानसिकतालाई ध्यानमा राख्दै योजना बनाउने बताए । ‘खेलाडी अझै पनि लिभरपुलसँगको हारको पीडाबाट मुक्त हुन सकेका छैनन्,’ उनले भने, ‘यसको असर कोपाको फाइनलमा नपरोस् भन्ने म चाहन्छु ।’

भाल्भर्डेले भ्यालेन्सिया बलियो टिम भएको भन्दै खेल ज्यादै कठिन हुने बताए । ‘मलाई थाहा छ, उनीहरू ला लिगामा एक बेला रेलिगेसन जोनमा थिए । तर, सिजन सकिँदा चौथो स्थानमा उक्लिए,’ भाल्भर्डेले भने, ‘यस्तो टिमसँग उपाधि खेल खेल्न सजिलो छैन । उनीहरू आक्रामक खेल खेल्ने टिम हुन् ।’

तर, भाल्भर्डेले भ्यालेन्सियालाई हराएर उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘हामी जसरी पनि यो उपाधि जितेर सिजनलाई थप राम्रो बनाउन चाहन्छौं । यसबाहेक हामीले केही गुमाउनु छैन,’ उनले भने ।

प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार ०४:०५
Loading...