कोपाको फाइनलको मुखमा बार्सिलोनालाई चोटले तनाव !

एजेन्सी, जेठ ७
स्पेनिस कोपा डेल रे फुटबलको फाइनल खेलको मुखमा बार्सिलोना चोटले समस्यामा देखिएको छ । उसले यसै साता कोपाको फाइनल खेल लिग प्रतिस्पर्धी भ्यालेन्सियासँग खेल्दैछ ।

सो खेलअघि बार्सिलोनाका आधा दर्जन खेलाडी चोटसँग जुधिरहेका छन् । जसका कारण सिजनको दोस्रो उपाधि भिडन्तमा उसलाई केही समस्या पर्ने देखिएको छ ।

यतिबेला बार्सिलोनाका आधा दर्जन खेलाडी चोटसँग जुधिरहेका छन् । जसका कारण बार्सिलोना कोपाको फाइनलमा बलियो टिम भ्यालेन्सियासँगको खेलालई लिएर चिन्तित देखिन्छ ।

लामो समयदेखि चोटसँग जुधिरहेका राफिन्हा यस खेलमा हुनेछैनन् । त्यसैगरी, उरुग्वेन फरवार्ड लुइस स्वारेज पनि नखेल्ने पक्का छ । स्वारेज च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको खेल दौरान नै घाइते भएका थिए ।

तर, बार्सिलोनाका पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन यस प्रतियोगितासम्म ठीक हुने सम्भावना छ । त्यस्तै, डिफेन्डरद्वय नेल्सन समेडो र क्लेमेट लेङलेट पनि यस खेलमा फिट हुने अपेक्षा रहेको यसअघि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बताएका छन् ।

तर, विंगर उसामन डेम्बेलेले यो खेल खेल्ने सम्भावना ज्यादै न्यून मात्रै छ । उनको दायाँ खुट्टामा चोट छ ।

त्यसैगरी, मिडफिल्डर अर्थुर मेलो र फिलिपे कोउटिन्होले पनि यो खेल खेल्ने सम्भावना एकदमै न्यून छ । दुवै खेलाडी फिट हुने सम्भावना न्यून रहेको भाल्भर्डेले अघिल्लो दिन बताएका थिए ।

बार्सिलोना यो सिजन ला लिगा च्याम्पियन बनिसकेको छ भने युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट आउट भएको थियो । बार्सिलाना कोपा जितेर दोस्रो घरेलु उपाधि सुरक्षित गर्ने योजनामा छ ।

कोपाको फाइनल आगामी शनिबार राति हुँदैछ । उपाधिका लागि ला लिगको च्याम्पियन बार्सिलोना र चौथो स्थानको भ्यालेन्सिया भिड्नेछन् ।

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार १५:४५
Loading...