मेस्सीलाई एमबाप्पेको ‘चेतावनीमूलक’ सन्देश !

एजेन्सी, जेठ ६
जारी सिजन युरोपियन गोल्डेन बुट दौडमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी अगाडि छन् । युरोपका टप–५ लिगमा ३६ गोलसहित उनी गोल्डेन बुटको पहिलो दाबेदारका रूमा रहेका छन् । ला लिगा सकिइसकेको छ ।

उनीपछि फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे रहेका छन् । उनले लिग वानमा कूल ३२ गोल गरेका छन् ।

गत राति सिजनको अन्तिम खेलमा मेस्सीले एइबारविरुद्ध २ गोल गर्दै ३६ गोल पुर्याउँदा एमबाप्पे ४ गोलले पछि परेका छन् । तर, लिग वानमा एमबाप्पेले अझै एक खेल खेल्न बाँकी छ ।

हालको अवस्थामा एमबाप्पेले मेस्सीलाई भेट्न वा उछिन्न निकै कठिन छ । त्यसका लागि उनले अन्तिम खेलमा चमत्कार नै गर्नुपर्छ । मेस्सीसँग बराबरी गरेर गोल्डेन बुट बाँड्न ४ गोल गर्नुपर्छ भने उछिन्न ५ गोल गर्नुपर्छ ।

यसैक्रममा एमबाप्पेले यो सिजन गोल्डेन बुट आफ्नो उद्देश्य रहेको बताएका छन् । गत राति लिग वानअन्तर्गत यो सिजनको उत्कृष्ट खेलाडी र युवा खेलाडीको अवार्ड थाप्नेक्रममा उनले यस्तो बताएका छन् ।

‘यो सिजन अझै पनि गोल्डेन बुट मेरो लक्ष्य हो,’ अवार्ड समारोहपछि मन्तव्य राख्नेक्रममा उनले भने ।

एमबाप्पेले मेस्सीको अन्तिम खेल हेरेको पनि बताए । ‘आज अपराह्न मैले मेस्सीले २ गोल गरेको खेल हेरें,’ उनले थपे ।

एमबाप्पेले आफूसँग अझै ९० मिनेट समय रहेको भन्दै मेस्सीका नाममा चेतावनीमूलक सन्देश दिए । उनले भने, ‘मसँग अझै ९० मिनेट छ । मलाई अब गुमाउनु केही छैन । र, ९० मिनेटमा जे पनि हुन सक्छ ।’

यसपटक मेस्सी गोल्डेन बुट जितेर सर्वाधिक धेरै छैटौंपटक यो यो उपाधि जित्ने दौडमा छन् भने एमबाप्पे पहिलोपटक गोल्डेन बुट जित्ने अभियानमा छन् ।

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार १२:०७
Loading...