‘अब मेस्सीले बालोन डि‘ओर जित्न कठिन छ’

एजेन्सी, जेठ ७
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे मोउरिन्होले यो बताएका छन् कि, अब बार्सिलोनाका लिओनल मेस्सीले बालोन डि‘ओर अवार्ड जित्न कठिन छ ।

गत राति ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोना र एइबार भिड्दा मेस्सीले २ गोल गरेका थिए । २–२ को बराबरीमा टुंगिएको सो खेलपछि मेस्सीले यो सिजन लिगमा ३६ गोल तथा समग्रमा सबैखाले प्रतियोगिताबाट कूल ५० गोल पूरा गरेका छन् ।

समग्रमा यो सिजन मेस्सीको व्यक्तिगत प्रदर्शन शानदार रह्यो । उनले सबैखाले प्रतियोगिताबाट ५० गोल गर्दै कूल २२ गोलका लागि असिस्ट गरेका छन् । उनी युरोपियन गोल्डेन बुटका पहिलो दाबेदार खेलाडी पनि हुन् ।

तर, यी सबैका बावजुत पनि मेस्सी २०१९ को बालोन डि‘ओर अवार्ड जित्नेमा ढुक्क हुने स्थिति छैन । पोर्चुगिज प्रशिक्षक मोउरिन्होले अब मेस्सीले यो अवार्ड जित्न धेरै कठिन रहेको बताएका छन् । बार्सिलोना युरोपियन च्याम्पियन्स लिगबाट आउट भएपछि मेस्सी बालोन डि‘ओरबाट धेरै टाढा पुगेको बताए ।

मेस्सीले यो सिजन बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिए । तर, मेस्सीसहितको टिम च्यामिपयन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग ४–० ले पराजित हुँदै प्रतियोगिताबाट आउट भएको थियो ।

मोउरिन्होले मेस्सी च्याम्पियन्स लिगमा असफल भएकाले उनले बालोन डि‘ओर जित्न कठिन रहेको बताए । ‘अब मेस्सीले बालोन डि‘ओर जित्नेमा शंका छ । किनभने, उनी युरोपको सबैभन्दा ठूलो प्रतियोगिामा असफल भए ।’

मोउरिन्होले अब मेस्सीले बालाने डिओर जित्न अर्जेन्टिनालाई कोपा अमेरिका जिताउनुपर्ने बताए । ‘मेस्सीले राष्ट्रिय मिटबाट कोपा अमेरिका जिते भने उनले अझै पनि यो अवार्ड जित्न सक्छन्,’ मोउरिन्होले भने, ‘तर, मेरो हिसाबमा उनीहरू यस उपाधिको दाबेदार होइनन् ।’

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०८:५९
Loading...