कम्पोनीले ११ वर्षपछि म्यानचेस्टर सिटीलाई बाई–बाई गर्दै !

काठमाडौं, जेठ ६
इंग्लिस क्लब म्यानचेस्टर सिटीका लिजेन्ड बेल्जियन खेलाडी भिसेन्ट कम्पोनीले ११ वर्षपछि क्लब छाड्ने घोषणा गरेका छन् । गत राति एफए कपअन्तर्गत सिटीले वाटफोर्डलाई ६–० ले हराउँदै उपाधि जितेको खेल नै कम्पोनीका लागि सिटीको जर्सीमा अन्तिम खेल थियो ।

सिटीमा ११ वर्ष बिताएका कम्पोनीले कूल १० उपाधि जितेका छन् । सिटीका कप्तानसमेत रहेका उनले यसपटक टिमलाई घरेलु ट्रिबेल उपाधि प्रिमियर लिग, लिग कप जिताउन योगदान दिए ।

हाल ३३ वर्ष पुगेका कम्पोनी सन् २००८ मा जर्मन क्लब हेमवर्गरबाट सिटीमा अनुबन्ध भएका थिए । उनले अब कोचिङ करिअर सुरु गर्ने बताइएको छ ।

कम्पोनीले अघिल्लो दिन सिटीलाई कपको उपाधि जिताएपछि फ्यानहरूका नाममा सन्देश दिँदै आफ्नो यो अन्तिम सिजन हुने बताए । उनले सन्देशमा लेखेका छन्–

‘लगातार लिग कप विजेता, लगातार इग्ल्यान्डको विजेता र एफए कप विजेता । यो सिजन हाम्रा लागि अविष्मरणीय रह्यो । सिटीमा म ११ वर्ष रहें । यतिबेला म आफैंलाई विश्वास छैन कि, सिटीमा यो मेरो अन्तिम सिजन हुनेछ ।’

उनले अघि थपेका छन्– ‘यहाँ ११ वर्ष रहँदा मैले कहिल्यै पनि क्लब छाड्नेबारे सोचिनँ । किनभने, सिटीमा मैले सबथोक पाएँ । मैले पनि आफूले सकेको योगदान दिएँ । तर, अब जाने समय आएको छ ।’

कम्पोनीकै कप्तानीमा सिटीले ११ वर्षको बीचमा चारपटक प्रिमियर लिगको उपाधि जितेको छ । टिमका भरपर्दा डिफेन्डर उनले सिटीको जर्सीमा ४ प्रिमियर लिग उपाधि, २ एफए कप र ४ लिग कप गरी कूल १० उपाधि जिते ।

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०४:२५
Loading...