सिजनको अन्तिम खेलमा बार्सिलोना एइबारसँग बराबरीमा रोकियो, मेस्सीको २ गोल !

काठमाडौं, जेठ ५
स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको अन्तिम खेलमा लिग च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको लिगको ३८औं साताको खेलमा बार्सिलोना अवे मैदानमा एइबारसँग २–२ को बराबरीमा रोकिएको हो ।

एइबारको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पछि परेको स्थिति उल्टाएर अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अन्तिम खेलमा अंक बाँड्न बाध्य भयो ।

घरेलु टोली एइबारले खेलको २०औं मिनेटमा मार्कको गोलबाट अग्रता लिएको थियो । तर, त्यसपछि पाहुना टोली बार्सिलोना खेलमा फर्कियो ।

उसका लागि खेलको ३१औं मिनेटमा कप्तान मेस्सीले टिमका लागि बराबरी गोल गरे । फेरि लगत्तै ३२औं मिनेटमा मेस्सीले र्न व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई १–२ को अग्रता दिलाए ।

तर, पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा एइबारका पाब्लोले दर्शनीय गोल गर्दै खेल २–२ बनाए । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट थप गोल भएन । र, खेल २–२ मा टुंगियो ।

यो बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडे । अब बार्सिलोनाको खातामा ३८ खेलबाट ८७ अंक भएको छ भने एइबारको खातामा ४७ अंक छ । ऊ लिगको १२औं स्थानमा छ ।

प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार १६:०६
Loading...