गोल्डेन बुट दौड : मेस्सीको गोल संख्या नजिक एमबाप्पे, यस्तो छ ताजा अवस्था

काठमाडौं, जेठ ५
जारी सिजन युरोपियन गोल्डेन बुट दौडमा बार्सिलोनाका कप्तान लिओनल मेस्सी र फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पे पुनः प्रतिस्पर्धामा देखिएका छन् ।

गत राति लिग वानअन्तर्गत ३७औं साताको खेलमा पिएसजी र डिजोन भिड्दा एमबाप्पेले २ गोल गरेसँगै उनले मेस्सीमाथि पुनः दबाब बढाएका छन् ।

यसअघि तीन खेलमा प्रतिबन्धमा परेका एमबाप्पे गत रातिको खेलमा मैदान फर्किएका थिए । जसमा उनले प्रतिबन्धपछिको पहिलो खेलमै २ गोल गरेर युरोपियन गोल्डेन बुटमा बार्सिलोनाका मेस्सीको गोल संख्यानजिक पुगेका छन् ।

यसअघि मेस्सी एमबाप्पेभन्दा स्पष्ट ४ गोलले अघि थिए । मेस्सी ला लिगाका ३७ खेल सकिँदा कूल ३४ गोल गरेर युरोपका टप–५ लिगमा सर्वाधिक गोकलर्ताका रूपमा गोल्डेन बुटको पहिलो दाबेदार बनेका छन् ।

तर, गत राति डिजोनविरुद्ध २ गोल गर्दै एमबाप्पेले मेस्सीसँगको गोल संख्या दूरी ४ बाट २ मा झारेका छन् । एमबाप्पेले लिग वानमा ३७ खेल सकिँदा ३२ गोल गरेका छन् ।

ला लिगा र लिग वानमा समान ३७–३७ खेल सकिँदा मेस्सीको नाममा ३४ र एमबाप्पेको नाममा ३२ गोल छ । अब मेस्सी एमबाप्पेभन्दा मात्रै २ गोलले अघि छन् ।

दुवै लिगमा अब मात्रै एक–एक खेल बाँकी छन् । अन्तिम खेल बाँकी छँदासम्म मेस्सीसँग २ गोलको अग्रता छ । बार्सिलोनाले आज राति अवे मैदानमा एइबारसँग लिगको अन्तिम खेल खेल्दैछ ।

सो खेलमा गोल गरेर एमबाप्पेसँगको गोल अन्तर बढाउने मौका मेस्सीसँग छ । यदि उनले आज १÷२ गोल गरेको खण्डमा उनी गोल्डेन बुटनजिक पुग्नेछन् ।

तर, आज मेस्सीले १ गोल पनि गर्न सकेनन् भने एमबाप्पेले आफ्नो अन्तिम खेलबाट २ गोल गरेर मेस्सीलाई भेट्न वा त्योभन्दा बढी गोल गरेर उछिन्न पनि सक्छन् ।

एमबाप्पे पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनले लिग वानमा पछिल्ला २ खेलबाट ५ गोल गरिसकेका छन् । उनले पछिल्लोपटक मोनाकोविरुद्ध ह्याट्रिक गरेका थिए । त्यसपछि उनी ३ खेलमा प्रतिबन्धमा परेर आएपछिको पहिलो खेलमै २ गोल गरेर मेस्सीमाथि दबाब बढाएका छन् ।

एमबाप्पे यसपटक अन्तिम खेलबाट ह्याट्रिक वा त्योभन्दा बढी गोल गरेर मेस्सीलाई पछि पार्दै करिअरको पहिलो गोल्डेन बुट जित्ने दाउमा छन् । यदि आज राति बार्सिलोना एइबारविरुद्ध उत्रिँदा मेस्सी गोलविहीन बनेको अवस्थामा एमबाप्पेले मेस्सीबाट गोल्डेन बुट खोस्ने वा बाँड्ने सम्भावना प्रबल रहन्छ ।

तर, यदि आज मेस्सीले १ वा २ गोल गरेको खण्डमा मेस्सी गोल्डेन बुटनजिक पुग्नेछन् । त्यो बेला अन्तिम खेलमा एमबाप्पेले चमत्कारिक रूपमा गोल गर्नुपर्ने हुन्छ ।

मेस्सीले लिगका ३३ खेलबाट ३४ गोल गरेका छन् । एमबाप्पेले भने मात्रै २८ खेलबाट ३२ गोल गरेका छन् । हालको अवस्थामा चाँडो गोल गर्ने मामिलामा मेस्सीभन्दा एमबाप्पे नै अगाडि छन् । लिग वानमा अब पिएसजीले अन्तिम खेल मे २४ मा रेइम्ससँग खेल्दैछ ।

प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ११:०५
Loading...