सिजनको अन्तिम खेलमा आज रियल मड्रिड र बार्सिलोनाको खेल हुँदै

काठमाडौं, जेठ ५
स्पेनिस ला लिगा फुटबलमा आज यो सिजनका अन्तिम दुई खेल हुँदैछन् । आज बार्सिलोना र एइबार तथा रियल मड्रिड र रियल बेटिस लिगको अन्तिम दुई खेल खेल्दैछन् । यी खेलपछि यो सिजनको लिग सकिनेछ ।

यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना आज सिजनको अन्तिम खेलका लागि एइबारको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक ८ बजेबाट सुरु हुनेछ ।

बार्सिलोना हाल लिगको शीर्ष स्थानमा छ । उसको खातामा ३७ खेलबाट ८६ अंक छ । एइबार ४६ अंकसहित १२औं स्थानमा छ ।

सिजनको अन्तिम खेलमा आज बािर्सलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले कप्तान लिओनल मेस्सीसहितको मिश्रित टोली उतार्नेछन् । बार्सिलोनाका केही खेलाडी चोटका कारण आज उपलब्ध हुनेछैनन् ।

यता, आजै हुने अर्को खेलमा रियल मड्रिड र रियल बेटिस खेल्दैछन् । यो खेल रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा अपराह्न ३ः४५ बजेबाट सुरु हुनेछ ।

आज रियलको टोलीमा गोलरक्षक केलर नाभास टोलीमा फर्किएका छन् भने ग्यारेथ बेल पनि २ खेलपछि टोलीमा परेका छन् ।

यो सिजनपछि बेल र नाभासले रियल छाड्न सक्ने चर्चा छ । त्यसैले आज घरेलु मैदानमा हुने यो खेल यी दुवैजना खेलाडीका लागि रियलको जर्सीमा अन्तिम खेल पनि हुनसक्छ ।

प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०१:४१
Loading...