बार्सिलोनालाई हराउँदै लियोनले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, जेठ ५
फरवार्ड अदा हेगरवर्ग चम्किएपछि महिला युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि फ्रेन्च क्लब लियोनले जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा लियोनले स्पेनिस क्लब बार्सिलोनालाई ४–१ ले स्तब्ध बनाउँदै उपाधि जितेको हो ।

यससँगै लियोनले लगातार चौथोपटक तथा समग्रमा छैटौंपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि उसले सन् २०१६–१८ सम्म पनि लगातार तीन सिजन यो प्रतियोगिता जितेको थियो । लियोन च्याम्पियन्स लिग सर्वाधिक धेरै ६ पटक उपाधि जित्ने टिम हो ।

यता, बार्सिलोना भने पहिलोपटक फाइनल खेल्दै उपाधि जितेर इतिहास रच्ने अवसरबाट चुक्यो । बार्सिलोनाले पहिलोपटक महिला च्याम्पियन्स लिगको फाइनल खेलेको हो ।

यसपालि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको बार्सिलोनामाथि फराकिलो जित निकाल्दै लियोनलाई उपाधि जिताउनेक्रममा अदा हेगरवर्ग ‘ह्याट्रिक हिरोइन’ बनिन् ।

हंगेरीको ग्रुपामा एरिना रंगशालामा भएको उपाधि भिडन्तमा बार्सिलोनामाथि लियोनले खेलको सुरुबाटै नियन्त्रण राखेको थियो । उसले पहिलो हाफमै गोलको वर्षा गरायो । खेलको पाँचौं मिनेटबाट गोल गर्न थालेको लियोनले ३०औं मिनेटमा पुग्दा ४ गोल हानिसकेको थियो ।

त्यसक्रममा हेगरवर्गले मात्रै १७ मिनेटको बीचमा सनसनीपूर्ण ह्याट्रिक पूरा गरेकी थिइन् । उनले गोल गर्नुअघि खेलको छैटौं मिनेटमा ड्याजसेनिफिर मारोजसानले लियोनका लागि पहिलो गोल गरेकी थिइन् ।

त्यसपछि हेगरवर्गले लगातार गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । खेलको १४औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेकी उनले १९औं र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । उनकै ह्याट्रिक गोलको मदतमा लियोनले बार्सिलोनाविरुद्ध पहिलो हाफमा ४–० को सहज अग्रता लियो ।

तर, दोस्रो हाफमा भने लियोनले गोल गर्न सकेन । यता, खेलको ८९औं मिनेटमा बार्सिलोनाका लागि एसिस्ट ओसोआलाले सान्त्वना गोल फर्काइन् ।

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार १८:२०
Loading...